सल्यान, ३१ सल्यान । सल्यानमा उत्पादित बेमौसमी तरकारीको ब्राण्डिङ गरिने भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका लगायत बिभिन्न क्षेत्रमा उत्पादन भएको तरकारीको परिमाणका आधारमा ब्राण्डिङ गरेर उत्पादन, प्रवद्र्धन र निर्यात गरिने भएको हो । बेमौसमी तरकारीको ब्राण्डिङ गर्न कपुरकोट गाउँपालिकाले कपुरकोटमा बृहत अन्तरक्रिया कार्यक्रम गरेर कृषि क्षेत्रको विस्तार र बजारीकरण गर्न १२ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, सल्यानका दशवटै पालिका तथा रोल्पाका रुन्टिगढी र त्रिवेणी गाउँपालिका सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागि भएको छलफलले तरकारीको ब्राण्डिङ गर्ने लगायतको साझा प्रतिबद्धता गरेको हो ।
बेमौसमी तरकारीका लागि कपुरकोट ब्राण्ड र अन्य जुडीबुटी, तरकारी, फलफूल, दूग्धजन्य पदार्थहरु, पशुजन्य उत्पादन र अन्नबालीको हावापानी, भूगोल र व्यवसायीकरणको सम्भावना अनुसार विशेष उत्पादन क्षेत्र निर्धारण गरी स्थान विशेष उत्पादन परिमाणको आधारमा ब्राण्डिङ गरी उत्पादन, प्रवद्र्धन र निर्यात गर्ने प्रतिबद्धता जनाइएको हो । यस्तै पालिकामा रहेका हाटबजारहरु बीचमा समन्वय र सहकार्य गरेर अघि बढ्ने, कृषि एम्बुलेन्स र ठूला शहरमा कपुरकोट तरकारी स्टल स्थापना गरी एकद्वार प्रणालीमार्फत निर्यात प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।
यस्तै एकरुपतासहितको समर्थन मूल्य तोक्ने, कृषकलाई कुनै पनि दायित्व नपर्ने गरी कर निर्धारण गर्ने, एकीकृत कृषि उपज निर्यात गर्न हाटबजार समन्वय समिति गठन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तै माटो परीक्षण गर्ने, प्रांगारिक मल उत्पादन प्रवद्र्धन गर्ने, निर्यात हुने कृषि उपजमा प्रादेशिक विषादी प्रयोगशालाको सञ्चालन गरी विषादी परीक्षण मार्फत गुणस्तर चिन्ह राख्ने, नवीन कृषि विकास गर्नुको साथै मल, बिउ र विषादीमा लगानी बढाउने, कृषि क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाइएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
कृषि मन्त्री शर्माले जिल्लामा बेमौसमी तरकारी खेती मात्रै नभएर हिउँदयाममा पनि तरकारी खेती विस्तारको योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । अहिलेसम्म प्रदेशका सात जिल्लामा कृषक तथ्यांक संकलन गरिएको बताउँदै उहाँले कृषकलाई अबका दिनमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गर्न लागिएको जानकारी दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनु भयो । तरकारीको ब्राण्डीङ, उत्पादन र पवद्र्धनका लागि पालिकाले प्राथमिकतामा रहेको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनुभयो ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।