चेतन वली तुलसीपुर, ११ बैशाख । पश्चिम दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुला निवासी हेमन्त डाँगीले झन्डै १ बिगाहा जमिनमा फलफूल खेती गर्नुभएको छ । साथै उहाले फलफूलको बिउ पनि उत्पादन गर्दै आउनु भएको छ । उहाले डाँगी फलफूल नर्सरी नामबाट २०४६ सालदेखि बिरुवा उत्पादन गर्दै आएको बताउनुभएको छ । पहिले पहिले आफूले उत्पादन गरेका बिरुवाले राम्रो मार्केट पाएपनि पछिल्लो समय बिरुवाको बजारिकरणमा समस्या भएको उहाले बताउनुभयो ।
यसमा स्थानीय सरकारले पनि कुनै चासो नदिएको उहाको भनाई छ । मेरो नर्सरी देखी पालिका धेरै टाढा छैन, तर, पनि पालिकाले नजर अन्दाज गरेको छ, उहाले भन्नुभयो । पालिकाले अन्यत्रबाट फलफूलका बिरुवा खरिद गरेर ल्याउछ, हामी कृषकहरूका लागी सरकार कहा छ, थाहा छैन, लाइट बालेर खोज्नु पर्ने अवस्था आयो, उहाले भन्नुभयो । कृषि ज्ञान केन्द्रमा पनि धेरै पटक धाएको तर, अहिले सम्म पनि कुनै चासो नदिएको भन्दै कृषकहरूका लागी सरकार छ भन्ने अनुभुति नै नहुने गरेको उहाको गुनासो छ । आफू सँग भएको पुरानो अनुभवको आधारमा नर्सरी सञ्चालन गर्दै आइरहेको उहाले बताउनुभएको छ । अबको दिनहरूमा फरक र आधुनिक तरिकाबाट यसलाई अगाडि बढाउनुपर्ने बताउँदै त्यसका लागी आफूलाई प्राविधिक सहयोगको आवश्यक रहेको उहाको भनाई छ ।
यता शान्तिनगर गाउँपालिकाले भने कृषकले गर्ने मूल्य र सरकारले तोक्ने मूल्यमा फरक पर्न जादा कृषकद्वारा उत्पादित बस्तुको बजारिकरणमा पालिकाले सहजिकरण गर्न नसकेको बताएको छ । तर, पनि आगामी दिनमा मूल्य समायोजन गरेर भएपनि डाँगी फलफूल नर्सरीबाटै बिरुवा खरिद गर्न सकिने शान्तिनगर पालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले बताउनुभएको छ ।
उता कृषि ज्ञान केन्द्र दाङले कृषकद्वारा उत्पादित बस्तुको बजारिकरणका लागी भनेर आवश्यक कागजजात सहितको फाइल मन्त्रालयमा पठाएको बताएको छ । तर, उक्त फाइल अहिले सम्म संसोधन नहुदाँ समस्या भएको र अब संसोधन हुने सम्भावना पनि नरहेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नरेश धितालले बताउनु भएको छ । यो कार्यक्रम पहिले नै आयोजना गरिएको रहेछ, संशोधनका लागी मन्त्रालयमा फाइल पठाइएको रहेछ, उहाले भन्नुभयो । म आएको त एक हप्ता मात्रै भयो, पहिलेको हाकिमलाई सोध्दा सबै कागजजात मन्त्रालयमा पठाइएको भन्नुहुन्छ, मन्त्रालयमा बुझ्दा अब संसोधन हुन नसक्ने जस्तो कुरा आयो, उहाले भन्नुभयो । देशको पछिल्लो आर्थिक अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले अब उक्त फाइल संसोधन गर्न नसकिने बताएको प्रमुख धितालले जानकारी दिनुभएको छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।