आत्महत्या गर्नेले कस्तो व्यवहार देखाउँछन् ? 

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या, वर्षैपिच्छे ७ लाख मानिसको मृत्यु कारण बनिरहेको छ । १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा आत्महत्या मृत्युको चौथो प्रमुख कारण हो । संसारभर आत्महत्याका घटनामध्ये ७७ प्रतिशत निम्न एवं मध्यम आय भएका देशमा भइरहेको तथ्याङ्कले देखाउँछ । यसै सन्दर्भमा मनोविद् करुणा कुँवरसँग गरेको कुराकानीको सम्पादित अंश ।

के कारण मान्छेले आत्महत्या गर्छ ?

यसो विचार गर्दा जीवन के रहेछ र ? ब्यर्थै रहेछ । मर्न पाए पनि हुन्थ्यो भनेर कहिलेकाहीँ मनमा आउनु त्यति अस्वाभाविक भने होइन । तर यही सोच बारम्बार लामो समयसम्म आइरह्यो भनेचाहिँ समस्या बनिदिन्छ । रोग बनिदिन्छ । त्यसैले छोटो समयका लागि यो दिक्दारी आइरहेको छ कि लामो समयसम्म बारबार यो सोच आइरहेको छ, यो बुझ्न अत्यन्तै जरुरी छ ।

आत्महत्या गर्ने जोखिम भएकाहरूमा के–कस्ता लक्षणहरू देखिन्छन् ?

विशेषगरी आत्महत्या गर्ने मानिसहरूमा दिक्दारीको लक्षण नै बढी देखिन्छ । दिक्क मान्नु, दैनिक गरिरहेको काममा रुचि नहुनु, आफ्नो सरसफाइ, खानपिनमा पनि ध्यान नपुग्नु, लथालिङ्ग हुनु, झर्को लाग्नु, रिस उठ्नु, निद्रामा गडबडी हुनुलगायतका लक्षण देखिन्छन्। यी लक्षणहरूचाहिँ जुनसुकै उमेर समूहमा पनि देखिन्छ । चाहे त्यो बालबालिकामा नै किन नहोस् ! युवायुवती होस् या ज्येष्ठ नागरिक किन नहोऊन् । त्यसकारण आत्महत्या गर्नेहरूमा जति पनि लक्षण देखिन्छन्, कुनै पनि उमेर समूह, समय र आर्थिक स्थिति कमजोर भएको व्यक्तिमा देख्न सकिन्छ ।

हुन त आत्महत्या भन्ने जुन समस्या छ, यो समस्या मान्छेको उत्पत्तिदेखि नै देखिँदै आएको रोग हो । यद्यपि अहिले आएर आत्महत्या गर्ने क्रम बढ्दो छ । बढ्दो क्रममा देखिनुको कारण किन पनि हो भन्दा एकातिर मानसिक स्वास्थ्यबारे जनचेतना एकदमै कम हुनु, अर्कोतिर लागुपदार्थलगायत रक्सी सेवनको कुलत बढ्नु, बालबालिकामा हुने यौन हिंसाका कारण पनि आत्महत्या बढेको पाइन्छ । तर मुख्यतः आत्महत्याको कारण भनेको डिप्रेसन नै हो ।

आत्महत्याको संख्या प्रत्येक वर्ष बढ्दै गरेको देखिन्छ । विश्वमा मात्रै होइन नेपालमै पनि आत्महत्याबाट ज्यान गुमाउनेको संख्या कम छैन । यसले मानसिक स्वास्थ्यप्रति हाम्रो लापरवाही दर्शाउँछ ।

आत्महत्या गर्ने जोखिम समूह कुन उमेर समूह, लिङ्ग वा परिस्थति हो ?

यही उमेर समूहमा भन्ने नै हुँदैन । सबैमा जोखिम देखिन्छ । बालबालिकामा पनि देखिन्छ ।

आफ्नो मान्छे, घरपरिवार र साथीभाइ कोही आत्महत्या गर्ने जोखिममा छ छैन कसरी थाहा पाउने ?

सर्वप्रथम त गर्दै आएको दैनिक क्रियाकलापमा रुचि ह्वात्तै घटेको देखिन्छ । कहिलेकाहीँ कार्यक्षमतामा कमी आएको हुनसक्छ । अथवा उसको उपलब्धि नभएको हुनसक्छ । खानपिन, निद्रामा गडबडी अवश्य पनि आएको हुन्छ । दिक्क मानेर बस्ने र रमाइलो गर्न मन नलागेको जस्तो गरी बस्ने परेको हुनसक्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा आत्महत्या गर्ने अधिकांशले कुनै न कुनै बेला आफू मर्ने कुरा कसै न कसैसँग गरेको पाइन्छ । त्यसैले यस्ता लक्षण र अभिव्यक्ति देखिएको खण्डमा चाहिँ घरपरिवार र साथी विशेष सचेत र गम्भीर हुनुपर्छ ।

हाम्रो संस्कार, संस्कृति अनि सामाजिक परिवेशमा गलत धारणा व्याप्त छन् । जसले आत्महत्याको अभिव्यक्ति गर्छ, त्यो व्यक्तिले चाहिँ आत्महत्या गर्दैन भन्ने खालको गलत बुझाइ भएर पनि हामीले धेरै मानिस आत्महत्याका कारण गुमाएका छौँ । आत्महत्याका घटना भएका परिवारका सदस्यसँग कुरा गर्दा अधिकांशले भन्ने गर्छन्, ‘हामीलाई पहिला भन्नु पनि भएको हो । तर हामीलाई विश्वास ने लागेन ।’

त्यसैले आत्महत्या गर्नेहरूले कहीँ न कहीँ आफूलाई बाँच्न मन नलागेको कुरा व्यक्त गरेको पाइन्छ ।

उनीहरूलाई कसरी सहयोग गर्ने ?

सर्वप्रथम त आत्महत्या भन्नेबित्तिकै मान्छेले केही गम्भीर समस्या भएर नै गरेको हो भन्ने बुझ्न आवश्यक छ । यदि कसैलाई बारम्बार आत्महत्या गर्ने सोच आइरहन्छ, योजना बनाइरहन्छ र आत्महत्या गर्ने प्रयास गर्ने गरेको छ भने उसलाई तुरुन्त उपचारको जरुरी हुन्छ । उसले उपचार पद्धति नै अपनाउनुपर्ने हुन्छ । उपचार पद्धतिमा औषधि सेवन पनि पर्न सक्छ, परामर्श पनि पर्न सक्छ । छिटोभन्दा छिटो विशेषज्ञहरूको सहयोग लिन जरुरी हुन्छ । शारीरिक चोट स्पष्ट देखिन्छ । तर मानसिक स्वास्थ्य त देखिँदैन । त्यसैले, मानसिक स्वास्थ्यबारे चर्चा गर्न जरुरी छ ।

मानसिक स्वास्थ्यको विषयलाई सामान्यीकरण गर्न एकदमै जरुरी छ । बालबालिकाको मानसिक स्वास्थ्यबारे बेलैमा सचेत हुने हो भने मात्रै ऊ भोलिका दिनमा उपलब्धिमूलक जीवन बाँच्न सक्छ । उनीहरूलाई दिनुपर्ने समय, हेरचाहमा कमी हुनुहुँदैन । बालबालिकामा पनि डिप्रेसनको समस्या छ ।  सरकारले पनि यसलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ । शिलापत्रबाट

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया