२०८२ चैत्र २० गते शुक्रवार

दाङ–३ मा पाण्डेको प्रतिबद्धता : सुशासन, रोजगारी र कृषि ऐन प्राथमिकतामा

दाङ क्षेत्र नं. ३ मा नेकपा (एमाले) ले तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । समसामायिक राजनीति र निर्वाचनमा केन्द्रित उम्मेदवार पाण्डेसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आसन्न निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको छ । मतदाताको मत आफ्नो पक्षमा पार्ने के छ, त्यस्तो एजेण्डा तपाईंसँग  ?

खासगरी यो निर्वाचन विशेष परिस्थितिमा हुन लागेको हुँदा राष्ट्रियदेखि स्थानीय समृद्धि र विकासका मुद्दाहरु यसमा जोडिएका छन् । जनमुखी कानुन निर्माण गर्ने र त्यसका माध्यमबाट नागरिकलाई शीघ्र सेवा र तीब्र विकासको अनुभूति गराउने अठोट लिएर निर्वाचनमा उम्मेदवार बनेको छु । मैले पाँच वर्षमा पाँच काम भनेको छु । यसमा पहिलो काम भनेको सुशासन, न्याय र भ्रष्टाचारमुक्त शासन पद्धतिका निम्ति पहल अर्थात् जनमुखी ऐन कानुन निर्माण गर्ने ।

दोस्रो काम भनेको पश्चिम दाङसहित समग्र मुलुकको अर्थतन्त्र सुधार गर्न युवा उद्यमशीलता प्रवद्र्धन गर्ने र उद्यमशालाहरु निर्माण गरेर रोजगारी सिर्जना गर्ने, यो क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक तथा वन क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषि ऐन निर्माणमा भूमिका निर्वाह गर्ने तथा सुत्केरी आमाहरुलाई पोषण भत्ता वापत पाँच हजार रुपैयाँ दिने कुरा म तुलसीपुर उपमहानगरपालिकाको मेयर हुँदा शुरु गरेको थिएँ, अब संघीय सरकारमा पुगेपछि त्यसलाई २० हजार पु¥याउनेलगायतका कुराहरु समेटिएका छन् ।

दाङ क्षेत्र नं. ३ का मतदाताहरुले अहिले सबैभन्दा बढी अनुभूत गरिरहेको समस्या के देख्नुहुन्छ ? समाधानका लागि तपाईंको ठोस योजना के छ  ?

हाम्रो यो क्षेत्र भनेको कृषिमा आधारित क्षेत्र हो । त्यसकारण मुख्य समस्या भनेको कृषि क्षेत्रमै छ । यो समस्या समाधानका निम्ति ऐन, कानुनको अभाव देखिन्छ । किसानको हकहित स्थापित हुनेगरी नेपालमा अहिलेसम्म कृषि ऐन नै बन्न सकेको छैन । जसले गर्दा किसानले समयमै मल, बिउ, पूँजी, प्रविधि र बजार पाउन सकेका छैनन् । त्यसको सुनिश्चितता गर्दै किसानलाई सम्मान हुने ऐन निर्माण गर्ने र त्यसबाट किसानका समस्या समाधान गर्न मैले पहल गर्छु । दोस्रो भनेको बेरोजगारी हो, त्यो समस्या समाधानका लागि गुणस्तरीय र प्राविधिक शिक्षाका माध्यमबाट रोजगारी प्रदान गर्ने ।

तेस्रो भनेको दिगो पूर्वाधार विकाससँग सम्बन्धित विषयहरु छन् । जसमा सडक, यातायात, खानेपानी, विद्युत विस्तारलगायतका कुरा छन् भने चौथोमा वन वातावरण र जैविक विविधतासँग सम्बन्धित कुराहरु छन् । जसमा नदी नियन्त्रणको कुरा छ । नदीले किसानका खेतीयोग्य जमिन कटान गर्ने अवस्था छ, त्यसलाई संरक्षण गर्ने योजना छ । त्यस्तै अर्को ठूलो समस्या भनेको राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण त्यस आसपासका स्थानीयहरुलाई परेका क्षति र नागरिकहरुमा देखिएको भयको अवस्था हो ।

यसलाई उचित व्यवस्थापन गर्न मानवअधिकारको सुनिश्चितता र त्यस आसपासका नागरिकहरुको जीउधनको सुरक्षाको ग्यारेन्टी हुने गरी राष्ट्रिय निकुञ्ज ऐनमा समसामयिक सुधार गर्ने कुरा कार्ययोजनामा समेटेको छु । सबै भूगोलमा देखिएको भूमिहीन सुकुम्बासीको समस्या हाम्रो क्षेत्रमा पनि छ । एमालेको सरकार बन्यो भने पाँच वर्षभित्र यसको दिगो व्यवस्थापन गर्ने एजेण्डा राखेको छु ।

युवाहरु विदेश पलायन हुने अवस्था झनपछि झन् बढ्दो छ । उनीहरुलाई स्वदेशमै अवसर छ भन्ने वातावरण बनाउन तपाईंसँग नीतिगत प्रस्तावहरु के छन्  ?

यसको नीतिगत पहलका लागि हामीले १० वटा काम भनेर केन्द्रीय घोषणापत्रमार्फत् सार्वजनिक गरेका छौं । जसमा हामीले अहिलेको पुस्ता इन्टरनेटसँग जोडिएर काम गर्ने कुरालाई महसुस गरेर १० जिबीसम्मको इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउँछौं । युवा तथा विद्यार्थीहरुलाई २० लाख रुपैयाँसम्म बिना धितो, बिना ब्याज ऋण उपलब्ध गराउने भनेका छौं । उनीहरुलाई आवश्यक पर्ने उद्यमशीलतासम्बन्धी तालिम तथा सीप सिकाउने र उनीहरुलाई उद्यममा जोड्ने । साथै नेपालभित्रै काम गर्दा न्यूनतम मासिक २५ हजार रुपैयाँ पारिश्रमिक ग्यारेन्टी गर्ने कुरा एजेण्डामा राखेका छौं । सरकार, निजी क्षेत्र र सेवा प्रदायक (श्रममा लगाउने) निकायबीचको समझदारीमा यो ऐन निर्माण गर्ने कुराको हामीले बाचा गरेका छौं ।

हामीले युवा स्वयंलाई दक्ष बनाउँदै उद्यमशीलतासँग जोड्दै उसलाई आवश्यक व्यावसायिक योजना, बजार योजना, प्रविधि र पूँजीमा सक्षम बनाउँछौं भने अर्कोतिर रोजगारी सिर्जनाका लागि आवश्यक पर्ने लगानी प्रवद्र्धन गर्न निजी क्षेत्र, सहकारी, समुदाय र सार्वजनिक क्षेत्रका बीचमा साझेदारीको अभियानमा विभिन्न किसिमका कम्पनी, सहकारी तथा नयाँ अवसरहरु सिर्जना गर्ने र नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्ने भन्ने रहेको छ । त्यसको शुरुवात तुलसीपुर उपमहानगरपालिकाको प्रमुख हुँदा मैले शुरुवात गरिसकेको छु ।

तपाईंले यसअघि तुलसीपुर उपमहानगरपालिकाको मेयरका रुपमा काम गरिसक्नुभएको छ । यो अनुभवले संघीय संसदमा तपाईंको भूमिका प्रभावकारी बनाउन सक्छ ?

मैले विगतमा सामुदायिक वन, सहकारी, सञ्चार क्षेत्र, स्थानीय सरकारको उपप्रमुख, प्रमुख भएर काम गरेको छु । त्यसले मलाई स्थानीय समुदाय, स्थानीय सरकार र सामुदायिकरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा काम गर्दा मैले जे अनुभव गरेको छु र जे अभाव खड्किएको छ, ती कुराहरुबारे बुझेको छु, त्यसकारण मेरो उपस्थिति संसदमा अरुभन्दा पृथक हुन्छ ।

अहिलेको राष्ट्रिय राजनीतिक परिवेशलाई तपाईंले कसरी विश्लेषण गर्नुहुन्छ ? स्थायित्व र विकासबीचको सम्बन्धमा तपाईंको धारणा के छ  ?

अहिलेको राष्ट्रिय राजनीतिको मूल समस्या भनेको कुनै पनि एउटा दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा संसदमा अस्थिरता भयो र यो अस्थिरताले व्यवसाय र अर्थतन्त्रमा पनि अस्थिरता सिर्जना ग¥यो । यो परिस्थितिको अन्त्य हुने एउटा मात्रै विकल्प भनेको राजनीतिक स्थिरता र स्थायित्व हुनुपर्छ । त्यसका लागि सूर्य चिन्हमा मतदान गरेर नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा छनोट गर्न म सम्पूर्ण मतदाताहरुलाई अपिल गर्छु ।

तपाईं तुलसीपुर उपमहानगरपालिकाको मेयर हुँदा आलोचनाहरु भए, ती आलोचनालाई के भन्नुहुन्छ  ?

राजनीतिमा आलोचनाहरु हुन्छन्, त्यो सामान्य कुरा हो । आफ्ना लागि होइन समाजका लागि गर्छु भन्ने आत्मविश्वासका साथ काम गरियो भने ती अपुष्ट आलोचनाहरु समयसँगै विलय भएर जान्छन् । मेरो राजनीतिक जीवन समाज सेवाका लागि समर्पित गरेको छु । त्यसकारण मलाई ती आलोचनाले खासै असर गरेन ।

दाङ क्षेत्र नं. ३ का मतदाताले तपाईंलाई नै किन आफ्नो प्रतिनिधिका रुपमा रोज्नुपर्ने  ?

यसको मुलभूत कुरा के भनेदेखि म एउटा सामान्य किसान परिवारमा जन्मेको सर्वसाधारण नागरिक । जसले पढाइ लेखाइका माध्यमबाट समुदायदेखि स्थानीय सरकार हुँदै संसारका धेरै मुलुकमा पुगेर काम गरेको छु । त्यो अनुभवले म एक किसिमले परिपक्व भएको छु । साथै पश्चिम दाङका समस्या बुझेको र समस्यालाई योजना, नीति र विधिका माध्यमबाट समाधान गर्न सक्ने, साहसिक नेतृत्व गर्न सक्ने म नै उपयुक्त पात्र हुँ जस्तो लाग्छ ।

नयाँ युगबोधबाट

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया