तुलसीपुर र लमहीमा मलको अभाव

 

बिमला घर्ती, घोराही २१ कात्तिक ।

दाङ जिल्लामा करिब एक साता देखि मलको अभाब देखिएको छ । भारतबाट मलको आयात नभएका कारण समस्या भएको सम्बन्धीत निकायको भनाई छ । तुलसीपुर र लमहीमा मलको अभाव भएपछि कृषकहरु घोराहीमा रहेको कृषि सामग्री कम्पनीमा आउनुपर्ने बाध्यता पैदा भएको छ ।

तुलसीपुर र लमहीबाट मल लिनका लागि घोराही आउनुपर्ने भएपछि कृषक सहकारी संस्थालाई झण्झट भएको छ । ती क्षेत्रमा मलको अभाव भइरहदा घोराही उपमहानगरपालिका क्षेत्रमा रासायनिक मलको अभाव रहेको छैन ।

अझै केही समयका लागि पुग्ने अनुदानको मल मौज्दात रहेको र बाँकी भित्रिने प्रक्रियामा रहेकाले तत्काल अभाव नहुने भएको कृषि सामग्रि कम्पनी लिमिटेड घोराहीका सहायक प्रकाश डाँगीले बताउनुभयो । डाँगीले बजारमा तत्काल मलको अभाव हुने सम्भावना नरहेको बताउनुभयो । हाल करिब युरिया एक सय ३१ मेट्रिक टन, २५ दशमलब ३०० मेट्रिक टन डिएपी, ६३ दशमलब १०० मेट्रिक टन पोटास मल स्कटमा रहेको छ ।

केही दिन देखि रासायनिक मल आयात रोकिएपनि मल स्टक रहेकाले कृषकहरुलाई समस्या नभएको उहाँको भनाई छ । ‘घोराही क्षेत्रमा आउनुभएका बिभिन्न सहकारी तथा कृषकहरुलाई चाहिएजती मल दिएर पठाएका छौ’ अहिले अभाव छैन् सहायक डाँगीले भन्नुभयो । मल आयात रोकिएको भएपनि अबको एक÷दुई दिनमा मल रासायनिक मल आउने जानकारी पाएको बताउनुभएको छ ।

युरिया र डि.ए.पी मलमा भने केही समस्या देखिएको उहाँको भनाइ छ । आउने समयमा नआएमा भने अभाब हुनेछ । स्टकमा रहेको युरिया तथा पोटास मलले केही दिन धान्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘तोकिएको समयमा मल आउन ढिलाइ भएमा मात्र केही दिनलाई समस्या पर्न सक्छ,’ उहाँले भन्नुभयो, ‘नत्र मलको समस्या हुने देखिँदैन ।’ मल अभाव हुन नदिन कृषि सामग्रि कम्पनी लिमिटेडले विभिन्न प्रयास गरिरहेको जानकारी दिनुभयो ।

हाल गहँु, मसुरो, आलु र तरकारीका लागि युरिया मलको आवश्यक छ । घोराहीमा करिब ७० वटा कृषि सहकारी संस्थाहरुले मलको कारोवार गर्ने गरेका छन् । उता लमही क्षेत्रमा भने मलको अभाव देखिएको छ । भारतबाट मल आयात रोकिएकाले लमहीमा पनि मलको अभाब भएकोे हो ।

लमही कृषि सामग्रि कम्पनी लिमिडेडका कर्मचारीका अनुसार करिब एक साता अघिबाट मलको अभाब भएको हो । ‘मौज्दात रहेको मल पनि सकियो, अहिले आएको छैन् कृषकहरु मल खोज्न दिनदिनै आउने गर्नुहुन्छ ।’ कार्यालयका कर्मचारी राजकुमार मण्डलले भन्नुभयो ।

लमही क्षेत्रबाट रासायनिक मल खोज्नका लागि घोराहीमा आएको घोराहीको कृषि सामग्रि कम्पनी लिमिटेडले जनाएको छ । ‘सोमबार पनि कृषकहरु मल खोज्दै यहाँ आउनुभएको थियो, हामीले दिएर पठाएका छौ घोराही शाखाका सहायक डागीले बताउनुभयो । अहिले भारतबाट मल आयात रोकिएकाले जिल्लामा मलको अभाब देखिएको छ । स्टक सकिएका कृषि सामग्रि तथा बिभिन्न सहकारीमा मलको समस्या भएको सम्बन्धीत निकायले बताएका छन् ।

लमहीका कर्मचारी मण्डलका अनुसार भैरहवा भन्सार कार्यालयमा मल आइपुगेको जानकारी पाएको बताउनुभयो । उता मल नआएका कारण यहाँ अभाब थियो, अब यहाँ समस्या नहोला उहाँले भन्नुभयो । अवको दुई÷चार दिनमा मल अभाबको समस्या समाधान हुने उहाँको भनाई छ । लमहीमा यूरिया तथा डि.ए.पी मलको अभाब अत्याधिक देखिएको छ ।

यसैगरी तुलसीपुर क्षेत्रमा पनि मलको अभाब भएको कृषि सामग्रि कम्पनी लिमिटेड शाखा तुलसीपुरका सहायक सुन्दर केसीले जानकारी दिनुभयो । कार्यालयमा भएको स्टक मल सकिएको तथा आवश्यक मल आयात नभएका कारण मलको अभाब देखिएको केसीले जानकारी दिनुभयो । बिशेष गररी युरिया र डि.ए.पी मलको अभाब भएको उहाँको भनाई छ ।

करिब एक साता देखि तुलसीपुर क्षेत्रमा मलको अभाब देखिएको हो । कार्यालयमा दैनिक जसो रासायनिक मलका लागि कृषि सहकारी सस्था तथा कृषकहरु आउने गरेपनि आवश्यक मल नभएको केसीले जानकारी दिनुभयो । तुलसीपुर क्षेत्रमा पनि अवको दुई÷चार दिनमा मल अभाबको समस्या समाधान हुने उहाँको भनाई छ । त्यसका लागि प्रयासरत रहेको पनि सहायक केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया