२०८३ कार्तिक १४ गते शनिवार

भिजिट भिसामा दुबई गएका १९ जना नेपाली अलपत्र

फाईल फोटो

काठमाण्डौ,६ पौष । भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् । नेपालबाट भिजिट भिसा लिएर दुबई पुगेपछि काम गर्ने योजनामा रहेका १९ जना भिसाको म्याद सकिएपछि कोठामा थुनिएर बस्नु परेको पीडितका परिवारले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरी एउटै नगरपालिकाका १९ जना दुबईमा अलपत्र परेर उद्धारको प्रतिक्षामा रहेको नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श केन्द्रका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो । धादिङबाट भिजिट भिसामा गएपछि काम लगाइदिने प्रलोभन पारेर हरेक व्यक्तिसँग २ लाख ५० हजार रुपैयाँ असुलेर दुबई पुगेपछि काम गर्न नपाएको पीडित रमेश परियारले जानकारी दिएका छन् । नेपालमा भिजिट भिसामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नवराज तामाङले दुबई पुगेर पनि एउटा कोठामा लगेर राखेका थिए । २५ जनालाई खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रवासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ । वैदेशिक रोजगारीका लागि भिजिट भिसा लिने सबैजसोले समस्या भोगिरहेकोले कामका लागि कसैलाई पनि भिजिट भिसामा नजान दुवाडीले आग्रह गर्नुभएको छ । अलपत्रलाई नेपाल ल्याउने प्रयास भइरहेको सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।