बुटवल, १४ कात्तिक । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गर्नुभएको हो ।साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ ।
बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनेको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा महाकरुणा बुद्ध मूर्ति राखिनुले यहाँबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गर्नुभयो ।
उहाले बुद्धका उपदेश अनुशरणबाटै विश्वमा शान्ति कायम हुन सक्ने भएकाले सबैले आफ्नो जीवनमा अनुशरण गर्ने र विश्वभर पुर्याउनुपर्ने धारणा राख्नुभयो ।लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाई विदेशी पर्यटक, अध्ययन अनुसन्धानकर्तालाई आकर्षित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।