तुलसीपुर, १९ चैत्र
विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड –१९ को महाविपत्तीमा देशमा संचालनमा रहेका निजी अस्पतालहरुले उपचार सेवा नदिएको र उपचार सेवा लिन पुगेका बिरामीलाई अस्पतालको गेटबाटै फर्काइदिएको भन्दै व्यापक आलोचना भइरहेका बेला यसको वास्तविकता खोतल्ने प्रयास गरेका छौ ।
प्रस्तुत छ, तुलसीपुर खबर डटकमका सहकर्मी लक्ष्मण विश्वकर्माले एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल (अफिन) का केन्द्रीय उपाध्यक्ष हरि रिजालसंग गरेको कुराकानी ।
तापाईहरुले अस्पताल बन्द गरेर बिरामीको तमासा हेर्नु भएको छ रे नि हो ?
हेर्नुस यो देशमा मेडिकल क्षेत्रमा एकलौटी राज गर्न चाहने केहि तत्वले हामी माथि लगाएको गलत आरोप हो । यो आरोप हामी मान्न तयार छैनौ । यसको हामी कडा रुपमा निन्दा र भ्रत्सना गर्न चाहन्छौ । अर्को कुरा एकाइसौ शताव्दीमा मानव जातिका लागि यो भन्दा ठूलो माहाविपत्ती अब अर्को आउँदैन होला जस्तो लाग्छ ।
यस्तो महाविपत्तीमा विश्वलाई नयाँ ढंगले सोच्ने र एक ठाउँमा उभिने बनाएको छ । यो समय, भातृत्व एकता कायम गरेर एकले अर्कोलाई सहयोग गर्ने बेला हो । हिलो छयापाछाप गर्ने समय यो होइन् । हामी माथि लगाएको ओरोप प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
त्यसो भए उपचारका लागि अस्पतालको गेटसम्म पुगेकालाई निजी हस्पिटलले फर्काइ दिएको कुरा गलत हो ?
हाम्रो बुझाई कस्तो भयो भने औषधीको व्यापार गर्नेलाई पनि हस्पिटल भन्न थाल्यौं के । सर्वसाधरण नागरिक पेट दुख्दा, ज्वरो आउँदा, पथरी पर्दा अथव कुनै समस्या पर्दा सुरुमा जाने ठाउँ भनेको नै निजी मेडिकल क्लिनिक नै हो । साना औषधी पसल नै हो । किनकि त्यहाँ जाँचेको पैसा लाग्दैन । अनि लक्ष्यणका आधारमा औषधी लिएर घर जान्छन् । अलि ठूलो समस्या भयो भने मात्रै नजिकका हस्पिटल, जिल्ला बाहिरका हस्पिटल खोज्न थाल्छन ।
अनि त्यस्ता औषधी पसलहरु बन्द भएको र कोरोना संक्रमणको डरले गएका बिरामीलाई उपचार नगरेको विषयलाई जोडेर निजी हस्पिटलले उपचार गरेनन् भनेर भ्रामक हल्ला फैलाउछन् ।
मलाई बताइदिन्स । कुन निजी हस्पिटलले औषधी गरेको छैन । कुन निजी हस्पिटलले उपचार नगरेर बिरामी गेटबाट फर्काएको छ ? हामीले त उपचार गरिरहेका छौ त । एउटै आमा–वावुको छोराछोरी पनि त कोही मन्त्री ुहन्छ, कोही डाक्टर हुन्छ । कोही सांसद हुन्छ कोहि केहि नगरेर हल्लेर खानेपनि त हुनसक्छ । अपवादको रुपमा कहि कतै हुनसक्ला । त्यसैलाई उचालेर यतिका तिक्डम गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।
आफनो बचाउ गर्न त माहिर है तपाई ?
मैले अघि नै भनि सके । यो समय एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने समय हुदै होइन् । मिडियाले पनि अरु कसैको बदनाम गरेर आफनो व्यापार त गर्नु भएन नि । हस्पिटल भनेको त्यहाँ डक्टर हुन्छन् । नर्स हुन्छन् , त्यहाँ बिरामी राख्ने अनुमति अनुसार बेड संख्या तोकिएको हुन्छ । उपचार नगर्न र ढोका लगाउने भनेर हामीले हस्पिटल खोलेका त होइनौ नि ।
डक्टर, नर्स, प्यारामेडिक र त्यहाँ काम गर्ने कर्मचारीलाई के घरबाट ल्याएर पैसा दिने हो र हामीले ? जनताको सेवा गरेर नै आएको स्रोतले त होला नि उनिहरुलाई पाल्ने । त्यसकारण दाङको तुलसीपुरको मात्रै कुरा होइन ।
देशका कुनै पनि ठाउँमा निजी अस्पतालले जानीजानी उपचार नगरेर बिरामी फर्काएको तथ्य पेश गर्नुस हामी तत्काल कारबाही गर्न तयार छौ । हामी बचाउने पक्षमा छैनौ तपाई ढुक्क हुनुस ।
विश्वभरी माहामारीका कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला निजी हस्पिटलले कसरी आफनो सेवा प्रवाह गरिरहेका छन ?
हामीले हाम्रो बल र बुताले भ्याएसम्म २४ सै घन्टा जनतालाई उपचार सेवा दिइरहेका छौ । नेपाल सरकारका संघिय तथा प्रदेश स्तरका सरकारी अस्पतालले सेवा दिन आनाकानी गरिहेका बेला हामीले जोखिम मोलेर भएपनि आफनो सेवालाई रोकेका छैनौ । उपचार दिइरहेका छौ ।
कोरोना संक्रमणको संकास्पद व्यक्तिलाई राख्नेगरी अस्पतालमा आइसोलेसन वार्ड तयार पारेका छौ । त्यसको तयारीमा हामी जुटेका छौ । बरु सरकारले हेर्ने दृष्टिकोण हामीलाई फरक छ । विभेदकारी छ । तै पनि हामीले हार खाएका छैनौ । चिकित्सकले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने पीपीइ समेत आफै उत्पादन गरेर सेवामा जुटी रहेका छौ ।
अन्तमा केहि भन्नु छ कि ?
महाविपत्तीका बेलामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन जो जहाँ छ त्यहीबाट आ–आफ्नो कर्तव्य सम्झेर लागऔं । उपचार सेवा लिन आएका बिरामीलाई विना कुनै हिच्कीचाहट उपचार सेवा प्रदान गरौ ।
निजी हस्पिटल प्रतिको आम नागरिको जुन खालको आशा भरोसा र विश्वास छ त्यसलाई कायम राख्दै अघि बढौ । लकडाउनको समयमा घरको कोठामा चुकुल लगाएर घरपरिवारसंग रमाऔं ।
कोरोनाको सबै भन्दा ठूलो उपचार भनेको यही नै हो । र अन्तमा अफिनको तर्फबाट मेरा बिचार आम पाठक तथा जनतासम्म पु¥याउने अवसर दिएकोमा लोक प्रिय डिजिटल पत्रीका तुलसीपुर खबर डटकमलाई धेरै धेरे धन्यवाद दिन चाहन्छु ।






