बझाङ, १५ असोज । बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब १० बजे सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ का अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिपमा चालकसहित तीन जना सवार थिए। दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की अन्दाजी २५ वर्षीया बिपना बोहरा र भारतको कलकत्ता ठेगाना भएका अन्दाजी ४५ वर्षीय सुबाशिस दास गुप्ता घाइते भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएको छ। जिप दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।