सल्यानमा गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु

बुद्धिमान पुन,सल्यान २४ बैशाख ।

सल्यानमा गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु भएको छ । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा रहेका किसानहरुले खेती गरेका गोलभेडामा बिभिन्न समस्या आउन थालेका छन् । गोलभेडामा निमाटोड तथा ओईलाउने समस्या आउन थाले पछि यस्ता समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु गरिएको हो । जिल्ला कृषि बिकास कार्यालय सल्यानले पोखरा बाट बङगलादेशी कण्ठकारी नामक गोलभेडा बिउ ल्याएर गोलभेडाका रुटस्टक राखिएको थियो ।

जिल्लाको शारदा नगरपालिका ६ बरलाका किसान भिमबहादुर बुढाथोकीको जग्गामा सो रुटस्टक राखिएको थियो । गोलभेडाका कलमी बेर्ना उत्पादनको लागी हालै कलमी काटिएको छ । बाँकी गोलभेडाका बिरुवालाई बिउ उत्पादन गर्नको लागी त्यसै राखिएको छ । कण्ठकारी नामक गोलभेडाले लगातार १८ महिना सम्म फल दिने गर्दछ ।

समय समयमा सिँचाई गर्ने, मलको बढी प्रयोग गर्ने, उर्बर माटो भएको तथा अन्य हेरचाह गरेमा १८ महिनाको अबधिमा त्यस गोलभेडाले २० देखी ८० किलो ग्राम सम्म फल दिने जिल्ला कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । कण्ठकारी नामक गोलभेडाको कलमी बाट सल्यानमा के, कती, राम्रो उत्पादन हुन्छ भनेर थोरै मात्रामा यस बर्ष परिक्षण तथा अध्ययनको लागी कलमी काटिएको जिल्ला कृषि बिकास कार्यालय सल्यानका बागबानी बिकास अधिकृत तिलक कुमार केसीले जानकारी दिनु भयो ।

“जिल्लामा गेलभेडा खेतीको राम्रो सम्भाबना छ,” उहाँले भन्नुभयो– “अर्को बर्ष देखी किसानहरुलाई पनि यस प्रकारको कण्ठकारी नामक गोलभेडाको कलमी बेर्ना बितरण गरिने छ । ” जिल्लाको कपुरकोट, रिम, सांघारमुल, बरला, ढोरचौर, थारमारे तथा पश्चिमी क्षेत्रमा गोलभेडा खेतीगर्ने गरिन्छ । अर्को बर्ष देखी ती क्षेत्रलाई पकेट क्षेत्र कै रुपमा स्थापित गरी गोलभेडा उत्पादनमा बृदि गर्ने उद्देश्य पनि रहेको उहाँले बताउनु भयो । हाल जिल्लामा परम्परागत तरिकाले गोलभेडा खेती गरिदैँ आईएको छ ।

एउटै जमिनमा धरै बर्ष गोलभेडा खेती गर्दा उत्पादन पनि राम्रो नहुने गरेको छ । भने समय समयमा निमाटोड तथा आईलाउने रोग गोलभेडामा लागेर किसानहरुलाई सताउने गरेको छ । यसैबिच कण्ठकारी नामक गोलभेडाको कलमी बेर्ना उत्पादन सम्बन्धी तालिम जिल्लाको शारदा नगरपालिका ६ बरलामा सम्पन्न भएको छ । तालिममा कपुरकोट, सांघारमुल, ढोरचौर, बरलाका अगुवा कृषक तथा शिबजन माद्यामिक बिद्यालयका आई.एस.एजि. दोस्रो बर्षका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिमको स्याङजा जिल्लाका नर्सरी स्रोत ब्यक्ति कृष्ण बहादुर अधिकारी तथा जिल्ला कृषि बिकास कार्यालय सल्यानद्धारा सहजीकरण गरिएको थियो । तालिमको आयोजना जिल्ला कृषि बिकास कार्यालय सल्यानले गरेको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख २४ गते आइतवार
प्रतिक्रिया