प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १३ साउन ।
तुलसीपुरका हरि विक ७ बर्षिय छोरालाई लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगे । छोराको पेट दुख्ने समस्या थियो । त्यसकारण उनी छोराको स्वास्थ्य चेकजाँच गराउनका लागी अस्पतालको नाम दर्ता गर्ने ठाउँमा पर्चि काट्नलाई लाईनमा बसे । जव पालो आयो त्यसपछि नाम दर्ता गर्ने ठाउँमा बसेका एक जना कर्मचारीले उनलाई सोधे तपाईको के समस्या हो ? उनले भने म विरामी होईन मेरो छोराको स्वास्थ्य चेकजाँच गराउनु पर्नेछ । जवाफमा कर्मचारीले भने अहिले बाल रोग विशेषज्ञ डाक्टर हुनुहुन्न ,तपाईको बच्चा कस्तो खालको विरामी हो ?
अनि उनले फेरी सोधे डाक्टर साफ कहाँ जानु भएको छ ? अनि ती कर्मचारीले भने डाँक्टर साफ विदामा बस्नु भएको छ, तपाईको बच्चा सामान्य विरामी हो भने १४ नम्वर कोठामा गएर देखाउनुहोस् अन्य डाक्टर साफले पनि हेर्नुहुन्छ नत्र अनेत्रै लैजानुहोस् । त्यसपछि उनले छोरालाई अनेत्रै लैजानु पर्ला भन्दै अस्पतालबाट निस्किए ।

उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर नहुदा उनी जस्तै बाल उपचार गराउन आएका धेरै विरामी अस्पतालबाट यसरी नै फर्किने गरेका छन् । अस्पतालमा आउने धेरै जसो विरामीलाई बाल रोग विशेषज्ञ डाक्टर भए नभएको कुनै थाहै छैन ।

अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर प्रकाश पुन एक वर्षे विदा लिएर बसेपछि विगत लामो समय देखी बाल उपचार सेवा प्रभावित बनेको छ । अहिले उक्त पद रिक्त रहेको छ । बाल रोग विशेषज्ञ डाक्टर विदामा बसेपछि बाल उपचार गराउन आउने विरामीहरु मेडिकल तथा अन्य अस्पतालमा जान बाध्य भएका छन् । डाक्टर पुन बिदामा बसेको र उनको ठाउँमा अर्को डाक्टर नुहदा अस्पतालमा अहिले बाल उपचार सेवा प्रभावित बनेको अस्पताल प्रशासनले बताएको छ । उनी विदामा बसेको छ महिना भन्दा वढि समय भईसकेको अस्पताल प्रशासनको भनाई छ ।

डाक्टर पुन विदामा बसेदेखी नै बाल उपचार सेवा प्रभावित बनेको हो । अस्पतालमा अन्य डाक्टरहरुले सामान्य विरामी भएका बालबालिकाको स्वास्थ्य चेकजाँच गरेपनि जटिल प्रकृतिका विरामीलाई सेवा दिन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताएका छन् । उनका अनुसार बाल रोग विशेषज्ञ डाक्टर पुनले एक बर्षको विदा स्वीकृती लिएर अमेरिका गएका छन् ।
उनको ठाउँमा अर्को डाक्टरको लागी माथिल्नो निकायमा पहल गरेपनि सम्भव भएको उनको भनाई छ । हामीले डाक्टरको लागी माथिल्नो निकायलाई आग्रह गरेका छौ उनले भने तर सुनुवाई भएको छैन जसले गर्दा बाल उपचार सेवा दिन सकिएको छैन ।

बालबालिका सम्वन्धि विरामी आउने गरेपनि आफुहरुले अनेत्र जान सुझाव दिएको उनको भनाई छ । अस्पतालमा बालरोग विशेषज्ञ डाक्टरको मात्र अभाव छैन उनले भने अस्पतालमा १६ जना डाक्टरको दरबन्दी हो तर ५/६ जना मात्रै छौँ । उनका अनुसार अस्पतालमा छाला रोग , नाककान घाँटी रोग लगाएतका रोगको विशेषज्ञ डाक्टरहरुको अभाव रहेको छ ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार
प्रतिक्रिया