तुलसीपुर उपमहानगरले गरेको प्लाष्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय कार्यन्वयनमा चुनौती

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २४ फागुण ।गत पौष ४ गते बसेको तुलसीपुर उपमहानगर कार्यपालिकाको ४९ औ वैठकले माघ १ गतेदेखि तुलसीपुर बजार क्षेत्रमा प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउने निर्णय गर्यो । बातावरणिय प्रदुर्षण तथा जनस्वास्थ्यमा असर पर्ने भन्दै उपमहानगरले बजार क्षेत्रमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको झन्डै दुई महिना पुग्न लागेको छ । तर उक्त निर्णय कार्यान्वयनमा भने चुनौती देखीएको छ ।

बजार क्षेत्र भित्र २० माईक्रोन भन्दा कम अर्थात गुणस्तरहिन प्लास्टिक झोला ,प्लेट र कप जस्ता बस्तुमा प्रयोग गर्न उपमहानगरपालिकाले रोक लगाएको छ । उपमहानगरपालिकाले रोक लगाए पनि बजारमा व्यापारीहरु अझै प्लाष्टिकका झोला प्रयोग गरिरहेका छन् । तुलसीपुर स्थित शिवाकोटी सप्लायर्सका पोषण भण्डारीले अहिले आफुले प्लाष्टिकको झोला प्रयोग गरिरहेको बताएका छन् । उनले भने उपमहानगरपालिकाको निति राम्रो हो तर त्यसको विकल्पमा के प्रयोग गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्ने बताएका छन् ।
आफु निति मान्न तयार भएपनि त्यसको विकल्प हुनुपर्ने उनको भनाई छ । यस्तै सल्यानरोड स्थित न्यु पन्चकोसी सप्लार्यसका राम कुमार वलीले पनि प्लाष्टिकका झोलाहरु प्रयोग गदै आएका छन् । आफुले उपमहानगरपालिकाको उक्त निर्णय समाचारमा सुनेको बताउदै सर्वप्रथम प्लाष्टिक उत्पादनमै रोक लगाउन उपमहानगरपालिकालाई चुनौती दिएका छन् ।
एक पटक प्रयोग भईसकेपछि पुन अर्को पटक प्रयोग गर्न नसकिने खालका गुणस्तरहिन प्लाष्टिकका झोलाहरु जथाभावी फाल्दा बर्षातको समयमा बगाएर किसानको खेतमा जाने अथवा त्यसलाई जलाउदा बातावरण प्रदुर्षण हुने तुलसीपुर उपमहानगरपालिका बातावरण तथा विपद व्यवस्थापन समितिको ठहर छ ।
त्यसैले यस्तो निति अघि सारिएको र कार्यान्वनका लागी सवैलाई सुसुचित पार्ने काम भईरहेको समितिका संयोजक नवराज लामीछाने बताएका छन् । उनले एकै चोटी निति कार्यन्वयन गर्न नसकीने बताउदै विस्तारै प्रभावकारी रुपमा कार्यन्वयन गर्ने दावी गरेका छन् ।बाताबरणलाई प्रतिकुल असर नपर्ने गरी छिट्टै कुहिने खालका वैकल्पिक सामग्री प्रयोग गर्न जरुरी रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया