काठमाण्डौ, २६ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा स्वर्गारोहण हुनु भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।
युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।