तुलसीपुर, ७ जेठ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीले तत्कालीन जनयुद्धकालमा ज्यान गुमाएका चालकहरूको सम्झनामा पाँच लाख रुपैयाँको छेदीलाल-यमसुन्दर स्मृतिकोष स्थापना गर्ने निर्णय गरेको छ। तुलसीपुरमा आज विहिवार बसेको संगठनको छैठौँ बैठकले “छेदीलाल-यमसुन्दर स्मृतिकोष” स्थापना गर्ने निर्णय गरेको हो। यस अघि संगठनले तिन लाखको स्मृतिकोष स्थापना गरेकोमा यसपाली दुई लाख थप गरी पाँच लाखको स्मृतिकोष स्थापना गरिएको हो । जिल्ला अध्यक्ष दीपककुमार बुढाथोकीको अध्यक्षता एवं संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ।
तत्कालीन जनयुद्धको समयमा चालक छेदीबहादुर चौधरीको २०५९ सालमा मसोटमा र अर्का चालक यमसुन्दर गुप्ताको २०६० सालमा सवारी चलाइरहेका बेला एम्बुसमा परी मृत्यु भएको थियो। उनीहरूको सम्झनामा स्थापना गरिएको स्मृतिकोषबाट अति विपन्न यातायात मजदुरका बालबालिका, दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भई अपाङ्गता भएका यातायात मजदुरका परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य रहेको जिल्ला अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो।
यस्तै बैठकले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रत्येक महिना सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। जिल्लाका विभिन्न स्थानमा यातायात मजदुर र सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो ।कार्यक्रममा केन्द्रीय अध्यक्ष राईले मजदुरहरूको एकता, अनुशासन र संगठनप्रतिको निष्ठा नै अधिकार प्राप्तिको मुख्य आधार भएको बताउँदै पेशाप्रति इमान्दार र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले यातायात मजदुरहरू अझ सचेत, संगठित र अनुशासित बन्नुपर्ने आवश्यकता औंल्याउँदै सभ्य चालकको परिचय स्थापित गर्न सुझाव दिनुभयो। बैठकको सञ्चालन जिल्ला सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो।





