२०८२ फाल्गुन ८ गते शुक्रवार

दाङ–३ को चुनावी रस्साकस्सी : सबैभन्दा बलियो को ?

दाङ–३ को निर्वाचन यसपटक सामान्य प्रतिस्पर्धाभन्दा माथि उठेर पार्टी संगठन, उम्मेदवारको राजनीतिक हैसियत र मतदाताको मनोविज्ञानको गहिरो परीक्षणको रूपमा उभिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे यही क्षेत्रबाट चुनावी मैदानमा छन् । ऐतिहासिक रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको दाङ–३ मा पछिल्ला वर्षहरूमा शक्ति सन्तुलन उल्लेखनीय रूपमा फेरिएको छ ।

सांगठनिक हिसाबले कांग्रेसकै ‘हाराहारी’ मा एमाले उभिनु र कतिपय सूचकमा अगाडि देखिनु नै यस निर्वाचनको सबैभन्दा चासोको विषय बनेको छ । यही मैदानमा पाण्डेलाई कांग्रेसका दिपक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी र नेकपा (माओवादी केन्द्र) का राजेश मास्कीले चुनौती दिइरहेका छन् । तर सांगठनिक यथार्थ, उम्मेदवारको राजनीतिक परिपक्वता र चुनावी गणित केलाउँदा घनश्याम पाण्डे नै यो प्रतिस्पर्धामा स्पष्ट रूपमा बलिया देखिन्छन् ।

दाङ–३ को राजनीतिक चरित्र बुझ्न यसको भौगोलिक र सामाजिक बनोट बुझ्न जरुरी छ । यो क्षेत्र ग्रामीण बहुल, कृषिमा निर्भर र परम्परागत राजनीतिक चेतनाबाट प्रभावित क्षेत्र हो । लामो समयसम्म कांग्रेसको पकड रहनुको कारण यही सामाजिक संरचना थियो । तर पछिल्लो दशकमा एमालेले स्थानीय तहमा निरन्तर काम गर्दै आफ्नो सांगठनिक आधार विस्तार गरेको छ । वडा–वडा, टोल–टोलमा एमालेका कमिटीहरू सक्रिय छन् । विशेषगरी युवा र मजदुर वर्गमा एमालेको प्रभाव बढ्दै गएको देखिन्छ । यही सांगठनिक विस्तारले दाङ–३ लाई अब केवल ‘कांग्रेसको क्षेत्र’ भनेर हेर्ने पुरानो बुझाइलाई चुनौती दिएको छ ।

घनश्याम पाण्डे एमालेभित्र संगठन निर्माणमा खारिएका नेता हुन् । उनी केवल चुनावी उम्मेदवार मात्र होइनन्, पार्टीका केन्द्रीय सदस्यको हैसियतले नीति निर्माण र संगठन विस्तार दुवैमा अनुभव बोकेका नेता हुन् । स्थानीय राजनीतिमा लामो समय सक्रिय रहँदै आएका पाण्डेले कार्यकर्ता तहसम्म गहिरो सम्बन्ध बनाएका छन् । उनका लागि दाङ–३ नयाँ क्षेत्र होइन, उनी यही क्षेत्रका सामाजिक, आर्थिक र राजनीतिक समस्यासँग प्रत्यक्ष रूपमा जोडिएका नेता हुन् । यही ‘लोकल कनेक्ट’ नै पाण्डेको सबैभन्दा ठूलो शक्ति हो ।
सांगठनिक हिसाबले एमाले अहिले दाङ–३ मा कांग्रेससँग बराबरीमा उभिएको छ, कतिपय ठाउँमा अगाडि नै देखिन्छ । स्थानीय तह निर्वाचनपछि एमालेले संगठनलाई पुनःसंरचना गर्दै वडा तहमा नयाँ नेतृत्व स्थापित गरेको छ । महिला संगठन, युवा संघ र जनवर्गीय संगठनहरूको सक्रियताले चुनावी अभियानलाई थप बलियो बनाएको छ । एमालेको संगठन केवल मत माग्ने संरचना होइन, दैनिक रूपमा जनतासँग जोडिने नेटवर्क बनेको छ ।

यही कारणले पाण्डेको अभियानलाई जमिनमै बल मिलेको छ ।
कांग्रेसका उम्मेदवार दिपक गिरी दाङको राजनीतिमा नयाँ नाम होइनन् । उनीसँग संसदीय अनुभव छ र व्यक्तिगत रूपमा मिलनसार नेताका रूपमा चिनिन्छन् । तर कांग्रेसको संगठन दाङ–३ मा आन्तरिक गुटबन्दीबाट मुक्त हुन सकेको छैन् । केन्द्र र जिल्लाको नेतृत्वबीच समन्वयको कमी, पुराना–नयाँ समूहबीचको द्वन्द्वले संगठनलाई कमजोर बनाएको देखिन्छ । गिरीको व्यक्तिगत छवि ठीक भए पनि पार्टीभित्रको एकढिक्कापनको अभावले उनको चुनावी अभियान अपेक्षित रूपमा धारिलो बन्न सकेको छैन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी ‘नयाँ विकल्प’ को नारासहित मैदानमा छन् । शहरी क्षेत्रमा रास्वपाको आकर्षण देखिए पनि दाङ–३ जस्तो ग्रामीण र परम्परागत मतदाताको प्रभाव रहेको क्षेत्रमा पार्टीको सांगठनिक उपस्थिति कमजोर छ । रास्वपाको संरचना अझै व्यक्ति–केन्द्रित र सामाजिक सञ्जालमा सीमित देखिन्छ । चुनाव जित्न आवश्यक पर्ने गाउँ–गाउँको नेटवर्क, अनुभवी कार्यकर्ता र मतदाता परिचालन क्षमता रास्वपासँग छैन् । सुवेदीको व्यक्तिगत उत्साहले केही युवालाई आकर्षित गरे पनि त्यो आकर्षण निर्णायक मतमा रूपान्तरण हुने सम्भावना सीमित देखिन्छ ।

नेकपाका उम्मेदवार राजेश मास्की सशस्त्र आन्दोलनको पृष्ठभूमिबाट आएका नेता हुन् । तर माओवादी केन्द्रको संगठन दाङ–३ मा पहिलेको जस्तो प्रभावशाली छैन् । शान्ति प्रक्रियापछिको राजनीतिक यात्रामा माओवादी नेतृत्वप्रति जनस्तरमा बढेको असन्तोष र संगठनात्मक कमजोरिले पार्टीको आधार खुम्चिएको छ । धेरैजसो पूर्व माओवादी कार्यकर्ता एमालेतिर आकर्षित भएको यथार्थले पनि मास्कीको चुनावी यात्रालाई चुनौती दिएको छ ।

अब उम्मेदवारको व्यक्तित्व र राजनीतिक क्षमताको तुलनामा फर्कौं । घनश्याम पाण्डे संगठन निर्माणमा खारिएका, अनुशासित र विवादरहित छवि भएका नेता हुन् । उनी भाषणमा भन्दा काममा विश्वास गर्ने नेताका रूपमा चिनिन्छन् । स्थानीय विकास, पूर्वाधार, शिक्षा र कृषि क्षेत्रमा उनले उठाएका मुद्दाहरू दाङ–३ का मतदाताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका छन् ।यही व्यावहारिक एजेन्डाले पाण्डेलाई मतदातासँग नजिक बनाएको छ । पाण्डेको अर्को ठूलो शक्ति भनेको एमालेको समग्र राजनीतिक दिशा र संगठनात्मक अनुशासन हो । एमालेको सशक्त केन्द्रिय नेतृत्व, स्पष्ट नीति र संगठित चुनावी रणनीतिले पाण्डेको उम्मेदवारीलाई थप बलियो बनाएको छ । कांग्रेस र माओवादी केन्द्र आन्तरिक समस्यामा अल्झिरहँदा एमाले स्पष्ट लक्ष्यसहित मैदानमा उत्रिएको देखिन्छ ।

दाङ–३ को चुनावी गणित हेर्दा कांग्रेसको परम्परागत मताधार अझै कमजोर भइसकेको छैन् । तर त्यो मताधार अब स्थिर मात्र छ, बढ्दो छैन् । उता एमालेको मताधार विस्तारोन्मुख छ । यही ट्रेन्ड नै पाण्डेको पक्षमा जाने सबैभन्दा ठोस संकेत हो । रास्वपा र नेकपाले केही मत काट्ने सम्भावना भए पनि त्यसको प्रत्यक्ष असर कांग्रेसलाई पर्ने देखिन्छ, जसको फाइदा अन्ततः एमालेले लिने सम्भावना बढी छ ।

विकासको सवालमा पनि पाण्डेले दाङ–३ लाई दीर्घकालीन दृष्टिकोणसहित प्रस्तुत गरिरहेका छन् । कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक सञ्जाल, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरण उनका प्रमुख एजेन्डा हुन् । यी एजेन्डा केवल नारामा सीमित छैनन्, उनीसँग ती कार्यान्वयन गराउने राजनीतिक पहुँच र अनुभव पनि छ भन्ने विश्वास एमाले समर्थक मात्र होइन, स्वतन्त्र मतदातामाझ पनि बढ्दै गएको छ ।

समग्रमा दाङ–३ को निर्वाचन संगठन, नेतृत्व र विश्वसनीयताको प्रतिस्पर्धा हो । कांग्रेस, रास्वपा र नेकपाका उम्मेदवार आ–आफ्नो ठाउँबाट प्रयासरत छन् । तर सांगठनिक शक्ति, उम्मेदवारको परिपक्वता, स्थानीय स्वीकार्यता र राष्ट्रिय राजनीतिसँगको पहुँचको हिसाबले घनश्याम पाण्डे नै यो प्रतिस्पर्धामा अगाडि देखिन्छन् । यदि कुनै अप्रत्याशित राजनीतिक तरंग नआएमा, वर्तमान शक्ति सन्तुलनले दाङ–३ बाट पाण्डेको जितको सम्भावना बलियो देखिन्छ । यही कारणले दाङ–३ को चुनावलाई एमालेको बढ्दो प्रभाव र कांग्रेसको घट्दो पकडको प्रतीकका रूपमा हेरिन थालिएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया