काठमाडौ, २५ चैत । प्रतिनिधिसभाको उपसभामुखको लागी आउदो शुक्रवार निर्वाचन हुने भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिनुभयो ।यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उहा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । सोहि अनुसार अर्यालले उपसभामुखको निर्वाचन यहि चैत २७ गतेलाई मिति तय गर्नुभएको छ ।
सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एक भन्दा बढी दल भएपनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।
प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)का ५ सांसद् छन् ।








