जसले सुकुम्बासी, ऐलानी तथा अव्यवस्थित बस्तीमा वर्षौँदेखि जोतभोग गर्दै आएका नागरिकहरू जग्गाको वैधानिक मालिक बन्ने प्रक्रियामा प्रमाणपत्रको पर्खाइमा रहेका बेला उनीहरूको बस्ती उजाड बनाउने अमानवीय र पीडादायी व्यवहार गर्यो। जसले भुइँमान्छे, शहरका गल्ली–गल्ली डुल्दै फोहोर उठाएर जीवन धान्ने, थोत्रा–मोत्रा सामग्री संकलन गर्ने कवाडीहरूलाई उचित व्यवस्थापन नगरी “जा जा” र “दूर दूर” भन्दै चरम अपमान गर्यो।
जसले कहिल्यै किसान, मजदुर र गरिखाने वर्गका जायज आवाज सुन्ने, उनीहरूका पीडाप्रति चासो राख्ने प्रयास गरेन; बरु भेट गर्न गएकाहरूलाई गेटमै दुत्कार्दै लखेट्यो। जसले आफ्ना काम, योजना र निर्णयबारे नागरिक संवाद, नागरिक सुनुवाइ जस्ता कुनै पनि माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्ने साहस कहिल्यै देखाएन। जसले बिहान–साँझको छाक टार्न सडकछेउ मकै पोलिरहेका, फुटकर सामान बेचिरहेका श्रमिकहरूलाई अपमानपूर्वक लखेट्ने कामलाई नै ‘महान उपलब्धि’ ठानी प्रचारबाजी गरिरह्यो।
जसले आफ्नो निजी मामिलामा सुरक्षाकर्मीको सामान्य चेकजाँचलाई लिएर सिंहदरबार जलाइदिने धम्की दियो, संघीय सरकार र एमालेविरुद्ध देशी–विदेशी प्रतिक्रियावादी शक्तिसँग मोर्चाबन्दी गर्दै षड्यन्त्रको जाल बुन्दै गयो। अन्ततः उसकै योजनाअनुसार, उसकै खटनपटनमा रहेका अराजक र बेसोमत तत्वहरूले सिंहदरबारमा आगजनी गरे, र त्यो जलनप्रति गर्व गर्दै उसका भरौटेहरू अट्टहाससाथ फोटो खिच्दै हिँडे।
जसले आफ्नै गुरुयोजना अन्तर्गत उक्साइएका, भड्काइएका स्कुले बालबालिकालाई निषेधित क्षेत्र तोड्न र कर्फ्यु उल्लङ्घन गर्न प्रयोग गर्यो। जसले भ्रष्टाचार, कुशासन र अनियमितताविरुद्ध उठेका जनआवाजलाई मुखरित गर्ने नाममा नवयुवाको शान्तिपूर्ण आन्दोलनलाई ढाल बनायो, दुरुपयोग गर्यो र युवालाई आक्रोशित बनायो। आगजनी र तोडफोडजस्ता हिंसात्मक क्रियाकलापमा उनीहरूलाई संलग्न गराउँदै सुरक्षाकर्मीलाई बल प्रयोग गर्न बाध्य पार्यो, जसको परिणामस्वरूप अबोध बालबालिकाले ज्यान गुमाउनुपर्ने दुःखद परिस्थिति सिर्जना भयो।
त्यस्तो गम्भीर घडीमा उसले नेतृत्वको जिम्मेवारी लिने त परै जाओस्—
-
न घाइतेलाई अस्पतालको बेडमा भेट्न गयो,
-
न मृतकका परिवारप्रति सामान्य समवेदना प्रकट गर्यो,
-
न मसानघाटसम्म पुगेर दुःखमा सहभागी भयो।
बरु, त्यो समय उसले आफ्नै पालित–पोषितमध्ये कसलाई सरकारमा पुर्याउने भन्ने गोप्य खेलमा बितायो। संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त २०७२ सालको संविधानलाई कसरी च्यात्न सकिन्छ भन्ने कुत्सित सोच बोकेर राष्ट्रपति र प्रधानमन्त्रीप्रति समेत अपमानजनक व्यवहार देखायो। यी सबै सुनियोजित, गोप्य र षड्यन्त्रपूर्ण हर्कत गर्ने व्यक्तिलाई अब स्पष्ट रूपमा चिन्हित गरौँ। जनविरोधी चरित्रको पर्दाफास गरौँ।
लेखक रामबहादुर जिसी पूर्व प्रहरी निरीक्षक हुनुहुन्छ ।



