तुलसीपुर २३ कात्तिक । तुलसीपुरको क लाईनको तल्लो बजार चोकलाई फेरि कसले, कहाँबाट र किन पृथ्वी चोक बनाउन खोज्दैछन ? जसको नाम संग मेरो गुनासो र चासो सरोकार वा बिमति भन्दा पनि जुन कार्य भैरहेको छ ,यसको निर्णय प्रक्रिया र आवस्कताको औचित्य संग मेरो कडा आपत्ति र बिमति हो !
तुलसीपुर बजारका सडकहरू यसै पनि साँघुरा छन्। दिनप्रतिदिन बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र ट्राफिक व्यवस्थापनको चुनौती हामी सबैले भोगिरहेका छौँ। यस्तो अवस्थामा बजारको तल्लो चोकमा फेरि राउन्डअबाउट निर्माण गर्ने र चोकको नामाकरण समेत गर्ने विषय सार्वजनिक चासोको विषय बन्नु स्वाभाविक हो।
मेरा केही गम्भिर प्रश्नहरू छन् आम रुपमा एक सचेत नागरिकको हैसियतले १. तुलसीपुरको तल्लो चोकको नाम परिवर्तन गरी पृथ्वी चोक राख्ने निर्णय कसले गरेको हो ? यसको औचित्य र आधार के हो ? २. उक्त नामकरण वा नाम परिवर्तनका लागि सम्बन्धित स्थानीय सरकार, नगर कार्यपालिका वा अन्य अधिकारप्राप्त निकायबाट औपचारिक निर्णय भएको छ कि छैन ? छ भने पनि त्यसको औतित्य हो कि हैन आज ? ३. राउन्डअबाउट निर्माणका लागि प्राविधिक अध्ययन, ट्राफिक व्यवस्थापनको मूल्याङ्कन र सडकको क्षमतासम्बन्धी विश्लेषण गरिएको छ कि छैन ? ४. यसबाट बजारको सवारी आवागमन सहज हुन्छ कि झन् अव्यवस्थित र जोखिमपूर्ण बन्छ ? यसको जवाफ कसले दिने ? स्थानिय सरकारको यसमा के धारणा छ ? ५. यस्तो सार्वजनिक महत्वको विषयमा स्थानीय व्यापारी, नागरिक, सरोकारवाला निकाय र आम नगरवासीसँग कुनै छलफल तथा परामर्श गरिएको छ कि छैन ?
सार्वजनिक स्थान र सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णय कसैको व्यक्तिगत इच्छा वा लहडमा हुन सक्दैन। यसका लागि स्पष्ट कानुनी आधार, अधिकारप्राप्त निकायको निर्णय, आवश्यक प्राविधिक अध्ययन र सार्वजनिक हितको सुनिश्चितता हुनुपर्छ। विकासका नाममा जथाभावी संरचना बनाउने होइन, तुलसीपुरको दीर्घकालीन आवश्यकता र भविष्यको सहरी व्यवस्थापनलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ।
स्थानीय सरकार छ भने त्यसको जिम्मेवारी र जवाफदेहिता पनि देखिनुपर्छ। कसले अनुमति दियो? कुन प्रक्रियाबाट दियो? के अध्ययन भयो? यी प्रश्नको जवाफ जनताले पाउनुपर्छ। म सम्बन्धित स्थानीय सरकार र सरोकारवाला निकायसँग यस विषयमा स्पष्ट आधिकारिक जानकारी सार्वजनिक गर्न अनुरोध गर्दछु । तुलसीपुर हाम्रो साझा सहर हो । यसको पहिचान, सार्वजनिक संरचना र विकासका निर्णयमा नगरवासीको चासो, सहभागिता र अपनत्व अनिवार्य हुनुपर्छ। विकास चाहिन्छ, तर योजनाबद्ध विकास। परिवर्तन चाहिन्छ, तर औचित्यपूर्ण परिवर्तन। निर्णय हुनुपर्छ, तर पारदर्शी र जवाफदेही निर्णय। हाम्रो तुलसीपुर, हाम्रो भविष्य !

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।