तुलसीपुर, २३ कात्तिक । दाङको तुलसीपुरमा पृथ्वी नारायण शाहको शालिक राख्ने तयारी गरिएको छ । बाहिनी चोकको नामले चिनिदै आएको स्थानमा राखिएको ट्राफिक स्ट्याण्ड हटाएर पृथ्वी नारायण शाहको शालिक राख्न लागिएको हो । रोटरी क्लब अफ तुलसीपुर सिटीले यस अघि त्यहाँ आफ्नो नामबाट रोटरी ट्राफिक आइल्यान्ड राखेको थियो । त्यसलाई हटाएर शालिक राख्ने तयारी गरिएको पृथ्वी नारायण प्रतिष्ठान तुलसीपुरले जानकारी दिएको छ ।
शालिक राख्नका लागि फाउण्डेशन तयार गर्न लागिएको छ । फाउण्डेशनको शिलान्यास तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस तुलसीपुर नगर सभापति बीरेन्द्र कुमार शाहले हिजो आइतबार गर्नु भएको हो ।
शालिक राख्न कार्यको विरोध
उता रोटरी क्लब अफ तुलसीपुर सिटीले रोटरी ट्राफिक आइल्यान्ड हटाएको भन्दै आपत्ती जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ को सिमानामा रहेको रोटरी ट्राफिक आइल्यान्ड रातारात अन्यत्र सारिएको भन्दै रोटरी क्लब अफ तुलसीपुर सिटीले आपत्ति जनाएको हो । क्लबका अध्यक्ष देवेन्द्र केसीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिमाथि कुनै पनि व्यक्ति वा संस्थाले सम्बन्धित निकायको जानकारी र अनुमति बिना हस्तक्षेप गर्न नपाउने बताउनुभएको छ । केही वर्ष अघि तत्कालीन वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछाने र वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले संयुक्त रूपमा उक्त ट्राफिक आइल्यान्डको संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो ।
स्थानीय सरककारको अनुमति लिएको छौ : प्रतिष्ठान
यता प्रतिष्ठानले स्थानीय सरकारको अनुमति अनुसार शालिक राख्ने तयारी गरिएको बताएको छ । तुलसीपुर उपहानगरपालिकाले पत्र लेखेर नै पृथ्वी नारायण शाहको शालिक राख्न अनुमति दिएपछि निर्माण कार्य अघि बढाइएको पृथ्वी नारायण प्रतिष्ठान तुलसीपुरका अध्यक्ष हरि शाहले तुलसीपुर खबरलाई जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले राष्ट्रिय शक्ति नेपाल तथा नागरिक अभियान दाङलाई कोट गर्दै २०८० जेठ ७ गते लेखेको पत्रमा २०७९ फागुन २६ बसेको नबौं कार्यपालिकाको बैठक अनुसार पृथ्वी नारायण शाहको शालिक स्थापना गर्न अनुमति दिइएको उल्लेख छ । यस अघि रोटरी ट्राफिक आइल्यान्ड राख्ने की र पृथ्वी नारायण शाहको शालिक राख्ने भन्ने विषयमा विषयमा विवाद भएपछि पालिकाले उक्त निर्णय गरेको थियोे । अध्यक्ष शाहले करिब १५ लाख लागतमा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक राख्ने तयारी गरेको बताउनुभयो ।
पृथ्वी नारायण शाहको शालिक राख्न दिइएको अनुमतिपत्र

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।