कुनै न कुनै आयमूलक पेसा, व्यवसाय,इलम, उद्यम र रोजगारीका बाटा समातेर आफू आत्मनिर्भर बन्ने मात्र होइन,अरू थुप्रैलाई समेत रोजगारीको अवसर सिर्जना गर्ने उद्यमी तथा व्यवसायीहरूलाई कुनै बेला शोषक,सामन्त,जाली र पुँजीपति भन्दै निन्दा, गाली, घृणा र अनादर गर्ने राजनीतिक स्कुलिङबाट हामी पनि दीक्षित भयौँ । त्यसबेला त्यस्ता मान्यताको पक्षपोषण गर्नुलाई नै घनघोर क्रान्तिकारिता ठान्थ्यौँ । आज विगतका ती सोच र व्यवहार सम्झँदा आफैँलाई प्रश्न गर्न मन लाग्छ– आखिर कस्तो वैचारिक भ्रम र जडतामा बाँचेका रहेछौँ हामी ! अरूलाई रोजगारी दिने, उत्पादन बढाउने, पुँजी निर्माण गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उद्यमशीलतालाई नै शत्रुवत् व्यवहार गर्नु कति ठूलो वैचारिक भूल रहेछ ! त्यो अनावश्यक जिद्दी,ढिट, रद्दी तथा सिल्ली मानसिकताको सिमेन्टेड पर्खाल समयमै भत्काउन सकिएकोमा आज आफैँप्रति सन्तोष र खुसी लाग्छ ।
निश्चय नै सबै उद्योगी–व्यवसायीका सबै काम निर्दोष र प्रश्नभन्दा माथि हुँदैनन् । उनीहरूका व्यावसायिक गतिविधिमा पनि कानुन, पारदर्शिता, श्रमिकको अधिकार र सामाजिक उत्तरदायित्वको प्रश्न उठ्न सक्छ । तर त्यसको समाधान विधिसम्मत नियमन, जवाफदेहिता र कानुनी कारबाही हो; लगानीमाथि आक्रमण, सम्पत्ति लुटपाट, चोरी, आगजनी र तोडफोड कदापि होइन।
आज पनि उद्योगी–व्यवसायीमाथि दागा धर्ने, उनीहरूको धनसम्पत्ति लुट्न र नष्ट गर्न तम्सिने, आगजनी तथा तोडफोडमा उत्रिने अराजक र विध्वंसकारी प्रवृत्तिहरू देखिएकै छन् । यस्ता प्रवृत्तिले व्यक्ति विशेषलाई मात्र होइन, समग्र लगानीको वातावरण, रोजगारी र राष्ट्रिय अर्थतन्त्रलाई नै कमजोर बनाउँछन् । अनेकौँ चुनौती, जोखिम र प्रतिकूलताका बाबजुद स्वदेशमै लगानी गर्ने, उद्योग व्यवसाय विस्तार गर्ने र थप रोजगारी सिर्जना गर्ने तपाईंहरूको अठोट, साहस, उत्साह र उद्यमशीलतालाई हार्दिक सलाम !
अन्त्यमा, आफूले उद्यम गरेर आर्थिक समृद्धिको बाटो समात्नुका साथै थुप्रै परिवारलाई रोजगारी र जीविकोपार्जनको आधार उपलब्ध गराउन योगदान पु¥याउनुभएका आदरणीय मीनबहादुर गुरुङ, शेष घले, उपेन्द्र महतो, अजय सुमार्गी, चन्द्र ढकाल र जीवा लामिछाने लगायत सम्पूर्ण उद्यमी तथा व्यवसायीहरूप्रति हार्दिक सम्मान र आदर व्यक्त गर्दछु । किनकि रोजगारी सिर्जना गर्नु केवल व्यक्तिगत नाफा कमाउनु होइन, अरूको चुलोमा आगो बल्ने आधार तयार गर्नु पनि हो। उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि नै राष्ट्रको समृद्धिका महत्वपूर्ण आधारस्तम्भ हुन ।
अबको क्रान्तिकारिता उद्यमीलाई गाली गर्नुमा होइन, उद्यमशीलताको सम्मान गर्नुमा छ; पुँजी नष्ट गर्नुमा होइन, उत्पादन र रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुमा छ। विचार बदलौँ, दृष्टिकोण बदलौँ, उद्यमशीलताको सम्मान गरौँ ! ०८३ मंसिर ०५ गते दाङ तुल्सिपुर



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।