घनश्याम पाण्डे दाङको राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा चिरपरिचित नाम हो। तुलसीपुर उपमहानगरपालिका–८, अश्वारा निवासी पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उहालाई उम्मेदवार बनाएको हो। उम्मेदवारीसँगै उहाप्रति चासो र चर्चा बढेको छ।
विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएका पाण्डे एमालेको केन्द्रीय सदस्य दुई पटक बनीसकेका नेता हुनुहुन्छ । उहा २०५४ सालमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपमेयर र २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो ।
सामुदायिक वनदेखि विश्व मञ्चसम्म
पाण्डे सामुदायिक वन आन्दोलनका एक अगुवा अभियन्ताका रुपमा स्थापित हुनु भएको छ । उहाले सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय अध्यक्ष तथा विश्व सामुदायिक वन सञ्जालको संयोजकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । नेपालसहित विश्वका करिब ५० देशमा सामुदायिक वनको अभियान विस्तार गर्न उहाले महत्वपूर्ण भूमिका खेल्नुभयो। वनमाथि स्थानीय समुदाय तथा आदिवासी जनजाति, महिला ,दलित तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा उहाले सशक्त आवाज उठाउदै आउनु भएको छ ।
शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान
अध्ययन, अनुसन्धान र सामाजिक रूपान्तरणमा सक्रिय पाण्डेले कानुनमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर हासील गर्नुभयो । विद्यार्थी जीवनपछि उहाले शिक्षक पेशाबाट सामाजिक सेवा यात्रा सुरु गर्नुभयो ।
सुरुमा उहाले सल्यानको मावि रिममा झण्डै छ महिना र दाङको चन्द्रदोय बोर्डिङ स्कुलमा अध्यापन गराउनु भयो। २०५२ सालमा तुलसीपुरमा सामूहिक रूपमा दाङ भ्याली बोर्डिङ स्कुल स्थापना गरी सञ्चालन गर्नुभयो। काठमाडौं फरेस्ट्री कलेज (वन विज्ञान अध्ययन हुन्छ) का संस्थापक सञ्चालक तथा मोर्गान इन्टरनेशनल कलेज ( जहाँ स्नातकोत्तर तहसम्म पढाई हुन्छ) का संस्थापकका रूपमा पनि उहाले योगदान दिनुभयो ।
२०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाको मेयर भएपछि पाण्डेले तुलसीपुरलाई शैक्षिक हबका रूपमा विकास गर्ने अभियान अघि बढाउनुभयो । उहाको कार्यकालमा स्थानीय तहको पहिलो प्राविधिक शिक्षा अवधारणाअन्तर्गत मेट्रो कलेज, बहुप्राविधिक शिक्षालय र मेगा बैंक सञ्चालनमा आए। हाल ती संस्थाहरूमा बाहिरी जिल्लाबाट समेत सयौँ विद्यार्थीहरु अध्ययनरत छन्।
स्वास्थ्य सेवामा उल्लेख्य सुधार
तुलसीपुर उपमहानगरपालिकाको मेयर बनेपछि पाण्डेले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्नुभयो। सर्वसाधारण आम नागरिकको पहुँच स्वास्थ्य सम्म लैजानका लागी “एक वडा, एक स्वास्थ्य केन्द्र” अवधारणा कार्यान्वयन, सुत्केरी प्रोत्साहन भत्ता, मेट्रो अस्पताल सञ्चालन, राप्ती प्रादेशिक अस्पतालमा सेवा विस्तार तथा ब्लड बैंक स्थापना उनका प्रमुख उपलब्धि हुन्। त्यस्तै राप्ती आँखा अस्पताल (रक्षाचौर) को भौतिक पूर्वाधार विकास, (उज्यालो तुलसीपुर’ अभियान अन्तर्गत सयौं नागरिकको निःशुल्क मोतियाबिन्दु उपचार, बिजौरीस्थित आयुर्वेदिक अस्पतालमा सेवा विस्तार तथा दोघरेमा आयुर्वेदिक अस्पताल स्थापना उहाको पहलमा सम्भव भएको हो।
समुदाय, सञ्चार र उद्यमशीलतामा भूमिका
राजनीति र सामाजिक आन्दोलनमा निरन्तर सक्रिय हुनु भएका पाण्डेले हजारौं युवा, महिला, दलित तथा सीमान्तकृत समुदायको नेतृत्व विकास र अधिकार पैरवीमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।उहाकै नेतृत्वमा सामुदायिक रेडियो प्रकृति एफएम स्थापना र सञ्चालन भयो, जुन हाल पनि निरन्तर रूपमा प्रसारणमा छ। रेडियो तुलसीपुर एफएम सञ्चालनमा पनि उहाको उल्लेखनीय योगदान रहेको छ।
सहकारी, बैंक तथा वित्तीय क्षेत्रमा पनि पाण्डेले अनुकरणीय काम गरेको थुप्रै उदाहरण छन्। उहा साविक मेगा बैंकका संस्थापक प्रवर्द्धकमध्ये एक हुन्। नविनतम सोच, नवयुवा उद्यमशीलता अभियान, सहकारी आन्दोलन तथा समावेशी विकासमा उहाले निरन्तर नेतृत्व प्रदान गर्दै आउनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण प्रक्रियामा समुदायका अधिकार सुनिश्चित गर्न पनि उहाको भूमिका उल्लेखनीय रह्यो। लामो राजनीतिक अनुभवका साथै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, वन, वातावरण र समावेशी विकासका क्षेत्रमा घनश्याम पाण्डेको योगदान बहुआयामिक छ। यही कारण उहा जनस्तरमा लोकप्रिय र विश्वासिला नेताका रूपमा सवै सामु परिचित हुनुहुन्छ ।








