काठमाण्डौँ, १८ कात्तिक । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो तीन महिनामा ३७९ युवाले मृत्यु भएको छ । यो सङ्ख्या चालु आव (साउन, भदौ र असोज) तीन महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट २३ करोड ९० लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक श्रमिक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिँदै आएको छ । बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको सङ्ख्या जोड्ने हो भने विदेशमा मृत्यु हुनेको सङ्ख्या अझ बढी छ । यसै गरी यस अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका २३६ श्रमिकलाई न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपैयाँसम्म आर्थिक सहायता दिने गरेको जनाएको छ ।
चालु आर्थीक बर्षको तीन महिनामा दुई लाख १० हजार युवा वैदेशिक रोजगारीमा जाँदा ३७९ नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु हुनु सामान्य मान्न नसकिँने जानकारहरु बताउछन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावासबाट वैदेशिक रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताउनुभयो । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता लिनेको सङ्ख्या वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेसँगै सेवाग्राहीको सङ्ख्या बढेर सहयोग रकम पनि बढेको छ ।।


