तुलसीपुर १२ भदौ । घर वा पसलमा जडान गरिएको सिसिटिभी क्यामेराले कुनै गतिविधि देखाएपछि मोबाइलमै घन्टी बज्ने, ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र प्रश्नको जवाफ एआईले दिने यी सबै सुविधा अब एउटै डिजिटल प्लेटफर्मबाट उपलब्ध हुने भएका छन्।
तुलसीपुरबाट सञ्चालनमा रहेको स्मार्ट टिम नेटवर्क्स प्रालिले स्थानीय आवश्यकता र बजारलाई केन्द्रमा राखेर विकास गरेको ‘स्मार्ट परिवार’ मोबाइल एप शुक्रबार सार्वजनिक गरेको हो। एपले सुरक्षा निगरानीदेखि व्यापार, यातायात, खाना, मनोरञ्जन र एआई सेवासम्मलाई एउटै डिजिटल प्रणालीमा जोड्ने प्रयास गरेको छ।कम्पनीका निर्देशक दुर्गा गिरीका अनुसार घर तथा पसलमा जडान गरिएका सिसिटिभी क्यामेरा एपसँग लिंक गरेपछि दर्ता गरिएको मोबाइल नम्बरमा तत्काल घन्टी बज्ने व्यवस्था गरिएको छ। यसबाट घर वा पसलमा हुन सक्ने चोरी तथा शंकास्पद गतिविधिबारे समयमै जानकारी लिन सकिने कम्पनीको दाबी छ।
व्यवसायीका लागि भने सिसिटिभीलाई केवल निगरानीको साधनमा सीमित नराखी बिक्रीको माध्यमसमेत बनाउने सुविधा एपमा राखिएको छ। व्यवसायीले पसलको लाइभ दृश्य ग्राहकलाई देखाउन, वास्तविक समयमा कुराकानी गर्न र सामान बिक्री गर्न सक्नेछन्।एपमा ‘स्मार्ट शोरुम’मार्फत स्थानीय व्यवसायीले आफ्ना उत्पादन डिजिटल रूपमा प्रदर्शन गर्न सक्नेछन्। ग्राहकले सामान हेर्ने, लाइभ च्याट गर्ने, क्यूआर वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्ने तथा डेलिभरीको अवस्थासमेत ट्र्याक गर्न सक्ने कम्पनीले जनाएको छ। उत्पादनलाई आकर्षक रूपमा प्रस्तुत गर्न थ्रीडी प्रोडक्ट भ्यु र व्यवसायको विश्वसनीयता बढाउन ‘भेरिफाइड स्टोर’को सुविधा पनि राखिएको छ।
यातायाततर्फ चालकसहितको सवारी बुकिङ, गन्तव्यअनुसार भाडा अग्रिम जानकारी, लाइभ ट्र्याकिङ तथा लामो दूरीका बसको अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराइएको छ। यात्रुले बसको सिट नक्सा हेरेर आफूलाई उपयुक्त सिट छनोट गर्न सक्नेछन्। महिलाका लागि छुट्टै सिट तथा डिजिटल टिकटको सुविधा पनि समावेश गरिएको छ।घरमै खाना मगाउन चाहनेका लागि ‘स्मार्ट किचन’ र नेपाली सामग्री हेर्नका लागि ‘स्मार्ट टिभी’ सेवा एपमा जोडिएको छ। स्थानीय रेस्टुरेन्ट तथा खाजाघरबाट खाना अर्डर गरी घर वा कार्यालयमै डेलिभरी लिन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, ‘सोध्नुस्’ नामको एआई सेवाले सरकारी सेवा, स्वास्थ्य, कानुन, कृषि, शिक्षा, वैदेशिक रोजगारी र व्यवसायलगायत विषयमा नेपाली भाषामै प्रश्नको स्वचालित जवाफ दिनेछ। कम्पनीका अनुसार यो सेवा २४ घण्टा निःशुल्क उपलब्ध हुनेछ।यातायात क्षेत्रमा कार्यरत चालकलाई डिजिटल बजारमा जोड्न ‘स्मार्ट ड्राइभर’ एपसमेत तयार गरिएको छ। चालकले एपमार्फत दर्ता हुन, सवारीसम्बन्धी अनुरोध स्वीकार गर्न र आफ्नो आम्दानीको विवरण हेर्न सक्नेछन्। शुभारम्भको अवसरमा पहिलो एक महिना मोटरसाइकल, अटो र कार निःशुल्क दर्ता गर्न सकिने तथा त्यसपछि मासिक एक हजार पाँच सय रुपैयाँ सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ।
हाल ‘स्मार्ट परिवार’को सेवा तुलसीपुर, घोराही, लमही, भालुवाङलगायत दाङका विभिन्न क्षेत्रमा उपलब्ध छ। दुवै एप हाल एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने र केही समयमै गुगल प्ले स्टोरमा समेत उपलब्ध गराउने तयारी रहेको निर्देशक गिरीले बताउनुभयो। कम्पनी अध्यक्ष अरुण श्रेष्ठले ठूला सहरमा केन्द्रित डिजिटल सेवाको पहुँच दाङका नागरिकसम्म पुर्याउने उद्देश्यले प्लेटफर्म विकास गरिएको बताउनुभयो। स्थानीय व्यवसायी, उपभोक्ता र चालकलाई एउटै डिजिटल प्रणालीमा जोडेर स्थानीय अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ।
एपमा मेडिकल, आगलागी तथा अपराधजन्य आपत्कालीन अवस्थासँग सम्बन्धित विषय पहिचान गरी सम्बन्धित आपत्कालीन नम्बरमा सम्पर्क गर्न सुझाव दिने सुविधा पनि राखिएको कम्पनीले जनाएको छ। शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यतामा एप सार्वजनिक गरिएको हो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विमल रिजाल, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल र युवा व्यवसायी केशव नेपालीले स्थानीय स्तरबाट सुरु भएको प्रविधिमैत्री सेवाले दाङको डिजिटल बजार कम्पनीका निर्देशक दुर्गा गिरीले स्वागत मन्तव्यसंगै विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण प्रेम विवश घर्तिले गर्नु भएको थियो ।





