२०८३ भाद्र १३ गते शनिवार

बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ जना पुग्यो

फोटो फाईल

काठमाण्डौ, १३ भदौ । भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ जना पुगेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार विहान १० बजेसम्मको विवरणमा रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जनाको शव फेला परेको हो ।

अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर २ हजार ४२६ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् ।

रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना, मकवानपुरबाट ६५ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त छ । त्यस्तै जलविद्युत आयोजनातर्फ ९३३ जना र विदेशी नागरिक १२७ जना पनि सम्पर्कमा छैनन् । लाङटाङ निकुञ्जमा ३ जना सम्पर्कविहीन छन् । १०१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । बाढीको चौथो दिन आज शनिवार पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिएको सरकारले जनाएको छ । खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरुको उद्धार हुन नसकेको गुनासो छ ।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।