सल्यान ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सल्यानको कालिमाटी गाउँपालिकाका दुई जना नागरिक बेपत्ता भएपछि गाउँपालिकाले खोजी तथा उद्धारका लागि सम्बन्धित सबैमा अपिल गरेको छ।
कालिमाटी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका–१ का भुपेन्द्र बहादुर रावत र वडा नं. ३ का भुपेन्द्र बहादुर केसी रसुवाको प्रभावित क्षेत्रमा हाइड्रोपावरमा काम गर्ने क्रममा सम्पर्कविहीन भएको जनाएको छ।गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री (केसी) ले बेपत्ता नागरिकको अवस्था हालसम्म जानकारीमा नआएकाले सम्बन्धित क्षेत्रको प्रशासन, उद्धार टोली तथा विपद् व्यवस्थापनमा संलग्न निकायलाई यथाशीघ्र खोजी तथा उद्धारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन नागरिकबारे जानकारी भएमा गाउँपालिकाले उपलब्ध गराएको ९८६६८२९३५२ सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरेको छ।





