२०८२ असोज २६ गते आइतवार

सगरमाथाको पूर्वी भागमा फसे एक हजार पर्वतारोही

काठमाडौं । सगरमाथाको दुर्गम  तिब्बती स्लोपमा आएको भीषण हिमआँधीले पहाडको पूर्वी भागमा रहेका शिविरहरूमा करिब एक हजारभन्दा बढी पदयात्री र पर्वतारोही त्यहाँ फसेको बताइएको छ । उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा उद्धार कार्य अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त क्षेत्र समुद्र सतहदेखि करिब ४,९०० मिटर माथि पर्दछ । बाटोमा बाक्लो हिउँ थुप्रिएको हुँदा सयौं स्थानीयवासी र उद्धारकर्मीहरूलाई हिउँ हटाउन परिचालन गरिएको छ । रोयटर्सका अनुसार, स्थानीय सञ्चार माध्यमहरूले अहिलेसम्म करिब ३५० जनालाई सुरक्षित रूपमा उद्धार गरी कुडाङ भन्ने सानो बस्तीमा पुर्‍याइसकेको जनाएका छन् ।

शुक्रबार साँझदेखि सुरु भएको अविरल हिमपातका कारण पदयात्रीहरू थप जोखिममा परेको जनाइएको छ । यस क्षेत्रलाई पर्वतारोहण र पदयात्राका लागि लोकप्रिय मानिन्छ । कुडाङ पुग्न सफल यात्रु चेन गेसुआङले रोयटर्ससँग भनेका छन्, “हावापानी अत्यन्तै चिसो र भिजेको थियो । हाइपोथर्मियाको खतरा बढेको थियो ।”

चिनियाँ सरकारी सञ्चार माध्यमले तिब्बतस्थित ब्लू स्काई उद्धार टोलीलाई पदयात्रीहरूले सहायता मागेको उल्लेख गर्दै पालहरू भत्किएको र केहीमा हाइपोथर्मियाका लक्षण देखिएको जानकारी दिएको छ । यसबीच, टिङ्री काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि एभरेस्ट रमणीय क्षेत्रमा टिकट बिक्री र प्रवेश अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमवार
प्रतिक्रिया