२०८३ साउन ३१ गते आइतवार

तुलसीपुरमा वृक्षारोपण कार्यक्रम, विभिन्न प्रजातिका एक सय बिरुवा रोपिए

तुलसीपुर ३० साउन । तुलसीपुरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सहयोगी बचत तथा ऋण सहकारी संस्था र अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न प्रजातिका करिब एक सय बिरुवा रोपिएको हो।तुलसीपुर ९ थर्कुडाँडा क्षेत्रमा अमला, टिमुर, कपुर, दालचिनी, सितलचिनी लगायतका उपयोगी तथा वातावरणमैत्री प्रजातिका बिरुवा रोपिएका थिए।

वृक्षारोपणसँगै सहभागीहरूले वातावरण संरक्षण, हरियाली विस्तार तथा रोपिएका बिरुवाको संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले बढ्दो वातावरणीय असन्तुलन न्यूनीकरणका लागि वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताएका थिए। उनीहरूले बिरुवा रोपेर मात्र वातावरण संरक्षण नहुने भन्दै रोपिएका बिरुवाको नियमित हेरचाह, संरक्षण र हुर्काउने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा अमृतपुर खानेपानी संस्थाका अध्यक्ष दशरथ ओली, विनोद शर्मा, सुशील काफ्ले लगायत स्थानीय सरोकारवाला, संस्थाका पदाधिकारी तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलाराम बिष्टले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव दुर्गा शर्माले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया