
काठमाडौँ । गएरातिदेखि सुरु भएको अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ । खोलानालामा अचानक पानीको बहाव बढ्दा र सडकहरू अवरुद्ध हुँदा मृत्यु र क्षतिको भयावह तस्वीर देखिन थालेको छ ।
पाँचथरको तमुर नदीमा गाडी खस्दा ६ जनाको ज्यान गएको छ भने सिन्धुलीमा बोलेरो बगाउँदा थप ३ जनाले जीवन गुमाएका छन् । यससँगै वर्षाको कारणले अहिलेसम्म झण्डै एक दर्जन मानिसको मृत्यु भएको पुष्टि भएको छ ।
यता राजधानी छिर्ने सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । नारायणगढ–मुग्लिङ सडकखण्डमा मात्रै आधा दर्जन ठाउँमा पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको छ । अरु प्रमुख राजमार्गहरू पनि अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
उपत्यकाभित्र समेत बाढीको ठूलो जोखिम देखिएको प्रहरीले जनाएको छ । मौसमविद्हरूले अझै तीन दिन लगातार पानी पर्ने सम्भावना रहेको चेतावनी दिएका छन् । उनीहरूको भनाइमा, वर्षा यस्तै ढंगले जारी रह्यो भने ठूलो विध्वंस निम्तिन सक्नेछ ।
गत वर्षको असोज १०, ११ र १२ मा परेको मुसलधारे पानीले उपत्यकासहित देशका विभिन्न भागमा विनाशकारी क्षति पुर्याएको थियो । अहिलेको वर्षा पनि त्यसैको पुनरावृत्ति हुन सक्ने देखिँदा त्रास थपिएको छ । यसैबीच, सम्बन्धित निकायहरूले अत्यावश्यक बाहेकको यात्रा नगर्न, जोखिमयुक्त क्षेत्र खाली गर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।