
दाङ, २८ भदौ । जेनजीको आह्वानमा भइसकेका हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनीका कारण अस्थिर बनेको दाङमा आज पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ ।
प्रशासनले यसअघि कर्फ्यूआदेशमार्फत सुरक्षा व्यवस्था कडाइ गरेको भए पनि शान्ति सुरक्षा चुनौती कायमै रहेको भन्दै पुनः निषेधाज्ञा जारी गरिएको हो । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ काे (३) (क) बमोजिम आज बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गर्नुभएको छ । यस अवधिमा पाँच जना भन्दा बढी भेला भई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
प्रशासनका अनुसार पछिल्लो समय जनजीवन सामान्य बन्दै गएको देखिए पनि पुनः हुलदंगा र अशान्ति भड्किन सक्ने सम्भावना उच्च भएकाले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको हो ।