
तुलसीपुर, २८ भदौ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बजार क्षेत्रमा फैलिएको फोहोर व्यवस्थापन गर्न शुक्रबारदेखि युवाहरू स्वस्फूर्त रूपमा सरसफाइमा जुटेका छन् ।
कक्षा १२ मा अध्ययनरत १८ वर्षीय दिनेश केसीले आन्दोलन शान्तिपूर्ण हुनुपर्ने भए पनि हिंसात्मक रुप लिँदा क्षति भएको भन्दै अब पुनर्निर्माणमा युवा अग्रसर हुनुपर्ने बताए । ‘हामीले चाहेको शान्तिपूर्ण तरिकाबाट परिवर्तन हो, अब पुनर्निर्माणमा सहभागिता जनाएर जिम्मेवारीबोधको सन्देश दिनुपर्छ,’ उनले भने । युवाहरूले घोराही बजारको वीरेन्द्रचोकदेखि जेसीज चोकसम्म सडक सफा गरेका छन् । साथै, तुलसीपुर उपमहानगरपालिकाबाट अनुमति लिएर पालिकाभित्रको ट्रेड टावर प्रांगण र सडकमा छरिएका सिसाका टुक्रा, ढुंगा र इँटा उठाएका छन् ।
अनिल साहुका अनुसार नागरिकले सेवा लिने सरकारी कार्यालय र सडक क्षेत्रमा मात्रै सरसफाइ गरिएको छ । “आज हामी १० जना साथीले सरसफाइ गर्यौं, पालिकालाई जानकारी गराएर फोहोर उठाउन लगाइन्छ,” उनले भने । अनिस डाँगीले जेनजी पुस्ताले आन्दोलन मात्र होइन, सिर्जनशील काममार्फत समाजलाई प्रेरणा दिनुपर्ने बताए । “देशभरका जेनजी युवाले फोहोर व्यवस्थापन जस्ता सकारात्मक कार्यमा जुटे समाजले विश्वास गर्छ,” उनले भने ।