तुलसीपुरमा मृतक मानिएका शंकर भण्डारी जीवितै फर्किए

दाङ, २३ भदौ । मृत घोषित गरेर काजकिरिया सम्पन्न गरिएका शंकर भण्डारी जीवितै फर्किएपछि दाङमा अचम्मित बनाउने घटना घटेको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४६ वर्षीय शंकर भण्डारी रोजगारको सिलसिलामा गत जेठ २४ गते भारत हिडे। नेपालगञ्ज पुगेसम्म परिवारसँग सम्पर्कमा रहेका उनी त्यसपछि बेपत्ता भए । दुई महिनासम्म पनि कुनै खबर नआएपछि परिवारले खोजतलास सुरु ग¥यो । सो क्रममा उनको अनुहारसँग मिल्दोजुल्दो व्यक्तिको भारतमा दुर्घटनामा मृत्यु भएको जानकारी आयो ।

दाइका छोरा कृष्ण भण्डारी भारत पुग्दा त्यही शवलाई शंकरकै भनेर बुझाइयो । त्यसपछि शव ल्याइयो, साउन २७ गते तुलसीपुरमा अन्त्येष्टि भयो, काजकिरिया पनि सम्पन्न गरियो । परिवारजनले प्रियजनलाई सदाका लागि गुमाएको विश्वास गरे । तर, केही महिनामै चमत्कारिक मोड आयो । सोमबार अचानक शंकरले आफैं फोन गरेर श्रीमतीलाई ‘म अमिलिया पुगेँ, अब घर फर्कदै छु’ भने । मृतक भनेर किरियाकर्म गरिसकेको श्रीमान्को आवाज सुनेपछि श्रीमती देविका भण्डारी स्तब्ध भइन् । “आफू घर आउँदै गरेको खबर सुन्दा हामी अचम्मित भयौं,” उनले भनिन्, “मरिसकेको भनेर किरिया गरेको त अर्कै पो रहेछ ।”

 पुनः न्वारान र विहेपछि मात्र घर फर्किने

शंकर अहिले तुलसीपुर–६ रजौरा स्थित आफन्तको घरमा बसिरहेका छन् । उनी भन्छन्, “अब सिधै घर जान मिल्दैन रे, फेरि न्वारान र विहे गरेर मात्रै घर जानुपर्ने रहेछ ।” धार्मिक परम्परा अनुसार, मृत घोषित भएकाले पुनः जन्म (न्वारान) र पुनः विहे गरेपछि मात्र घर फर्कन सकिने मान्यता रहेको छ । तीन वर्ष अघि सशस्त्र प्रहरीबाट अवकाश लिएका शंकर भारतको गोवामा डुंगामा काम गर्दै आएका थिए ।

आर्थिक अभावका कारण मोबाइल सिम किन्न नसकेकाले लामो समयसम्म सम्पर्कमा आउन नसकेको उनले बताए । “पैसा थिएन, त्यसैले सिम किन्न पाएको थिइनँ,” उनले सुनाए, “छिट्टै घर फर्कनुपर्ने भएपछि अमिलिया आएर फोन गरेँ ।” एक छोरा र एक छोरीका पिता शंकरले आफ्नो ‘मृत्यु’ र ‘काजकिरिया’ भएको कुरा आफैं श्रीमतीसँग फोनमा कुरा गर्दा मात्रै थाहा पाए । यो अनौठो घटनाले दाङमा मात्रै होइन, देशभरै कौतूहल पैदा गरेको छ  ।

आफन्तको घरमा

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया