
काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शीतल निवासमा शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।
लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।