
काठमाडौं, २७ भदौ । वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा विघटनको निर्णयप्रति गम्भीर असहमति प्रकट गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले उक्त असन्तुष्टि औपचारिकरूपमा सार्वजनिक गरेको हो।
पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार, नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक अभ्यासको मर्म र भावनाविपरीत संसद् विघटन गर्ने निर्णय लिइएको भन्दै माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ।
बैठकले मुलुकको संवैधानिक शासन प्रणालीलाई मजबुत बनाउन सबै पक्ष गम्भीर, संवेदनशील र उत्तरदायी बन्नुपर्नेमा जोड दिएको छ। साथै, लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र स्थायित्वका लागि प्रतिनिधिसभाको निरन्तरता आवश्यक रहेको पार्टीको धारणा रहेको स्पष्ट पारिएको छ।