
तुलसीपुर, १८ भदौ । अमृतपुर खानेपानीको आगामी नेतृत्वका लागि नेकपा एमालेले जीत बहादुर खडकालाई अघि सारेको छ । तुलसीपुरको दोघरेमा बसेको पार्टीको भेलाले आगामी नेतृत्वका लागि खडकालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३, ८ र ९ अन्तर्गत पर्ने अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १५ औं साधारणसभा तथा ९ र्औ अधिवेशन भदौ २१ गते हुँदैछ । यसको पूर्व सन्ध्यामा पार्टीले अध्यक्ष पदका लागि खडकालाई उठाउने निर्णय गरेको हो । अध्यक्ष पदका उम्मेदवार खडका यसअघि अमृतपुर खानेपानीमा स्वतन्त्रबाट कोषाध्यक्ष पदमा विजयी भएर एक कार्यकाल कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।
अन्य पदाधिकारी र सदस्यको टुङ्गो भने पछि लगाउने नेकपा एमाले जिल्ला कमिटी दाङका प्रचार विभाग संयोजक संगित बस्यालले जानकारी दिनुभयो । नेकपा एमाले निर्वाचन सम्पन्न कार्यदलका संयोजक मेघराज भुसालको अध्यक्षता एवम् नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुम बहादुर बस्नेतको प्रमुख आथित्यमा भेला भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति बस्नेतले अध्यक्ष पदका उम्मेदवार खडकालाई जितको अग्रिम शुभकामना दिदै लक्ष्यमा पुग्नका लागि सक्रियताका साथ पार्टी काममा खट्न निर्देशन दिनुभयो । भेलामा ३ वटै वडा कमिटीका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष रुपबहादु खत्रीले गर्नुभएको थियो ।