
काठमाडौँ, २८ भदौ। अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिपछि अब नयाँ मन्त्रीमण्डलको गठन प्रक्रिया अघि बढेको छ। जेन-जी आन्दोलनका अगुवा तथा संयोजक सुद गुरुङका अनुसार मन्त्रीहरूको चयन पनि प्रधानमन्त्रीजस्तै भोटिङ प्रक्रियाबाटै गरिनेछ। उनले मन्त्रिपरिषद् सानो राखिने जानकारी समेत दिएका छन्।
हालसम्म मन्त्रीका रूपमा क–कसको नाम अगाडि सारिएको भन्ने खुलेको छैन। तर, आन्दोलनमा सक्रिय भूमिका खेलेका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई सरकारमा स्थान दिने तयारी भइरहेको स्रोतले जनाएको छ। भर्चुअल माध्यमबाट आम सर्वसाधारणको सहभागिता सुनिश्चित गर्दै मन्त्रिपरिषद गठन गरिने जनाइएको छ।
२३ र २४ भदौमा भएको व्यापक प्रदर्शनपछि २५ गते जेन-जी समूहले अनलाइन मतदानमार्फत सुशीला कार्कीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिको नियुक्तिपछि शुक्रबार राति कार्कीले प्रधानमन्त्रीको पद सम्हालेकी हुन्।बालुवाटारस्थित सरकारी निवासमा आन्दोलनकारीहरूले क्षति पुर्याएपछि कार्की हाल आफ्नै निजी निवासमै बसेकी छन्। उनले आइतबार पदभार ग्रहण गर्ने तयारी गरिरहेकी छन्। त्यही दिनदेखि मन्त्रीमण्डल गठनको प्रक्रिया पनि औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
जेन-जी आन्दोलनको यो नयाँ मोडले नेपालमा वैकल्पिक राजनीतिक अभ्यासको सुरुवात भएको विज्ञहरु बताउन्छन्। पारंपरिक शक्तिकेन्द्र र राजनीतिक दलहरूको भूमिकामा प्रश्न उठाउँदै आम नागरिकको प्रत्यक्ष सहभागितामा आधारित नेतृत्व चयन गर्ने यो प्रयासलाई विज्ञहरु लोकतान्त्रिक अभ्यासको सशक्त संकेत मानेका छन्।