आगजनी गरिएको एमाले पार्टी कार्यालय सरसफाइ, लाखौको सामान लूटिएको दाबी 

तुलसीपुर, २८ भदौ । नेकपा एमालेका नेताहरूले जलेर खरानी भएको पार्टी कार्यालयको सरसफाइ गरेका छन् । तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाको नेतृत्वमा गएको एमालेका नेता तथा कार्यकर्ताहरूले तुलसीपुरमा रहेको पार्टी कार्यालय सरसफाइ गरेका हुन् । गएको भदौ २४ गते जेनजीको प्रर्दशनका क्रममा एमालेको पार्टी कार्यालय आगजनी गरेर ध्वस्त गरिएको थियो ।

आगजनीबाट कार्यालयमा रहेका सयौं थान पुस्तकहरू, झ्याल, ढोका, पङ्खा, कुर्सी, दिप्सन, दराज पूर्णरुपमा जलेर नष्ट भएको पार्टीका जिल्ला सचिव श्याम डाँगीले जानकारी दिनुभयो । सरसफाइको क्रममा आन्दोलनकारीले कार्यालयमा प्रहार गरेका ढुङ्गा, इट्टा, खरानीको धुलो, आंशिक रुपमा जलेका कागजात, वाइरिङ गरिएका बिजुलीका तारहरू, पानीका बोतल, सिसाका टुक्राहरू सङ्कलन गरेका थिए ।

त्यसैगरी आन्दोलनकारीले एसी, शोफा, कम्प्युटर, ल्यापटप, खाट, ग्यास सिलिन्डर, कार्पेट, कुर्सी, टेबुल चोरेर  लगेको सचिव डाँगीले बताउनुभयो ।  कार्यालयमा ८ वटा एसी, ५ सय थान कुर्सी, २ वटा कम्प्युटर, ल्यापटप, १० थान सोफा, २ वटा खाट, २ वटा टेबुल, दुईवटा ग्यास सिलिन्डर,  १० वटा स्पिकर, साना टी टेबुल, रोष्टम,  लगायतका सामानहरू चोरेर लगेको  नगर सचिव जित बहादुर खडकाले बताउनुभयो ।

जिल्ला पार्टी कार्यालयको नाममा रहेको उक्त भवनलाई नेकपा एमाले तुलसीपुर नगर कमिटीले प्रयोग गर्दै आइरहेको थियो । आगजनीबाट घोराही र तुलसीपुरमा गरेर करोडौँको क्षति भएको नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले बताउनुभयो । पार्टी कार्यालय र नेताको घरमा छानी छानी गरिएको आगजनी र तोडफोडको जति निन्दा गरे पनि कम हुने बताउँदै दुई भदौ २४ गतेको आन्दोलनकारीको गतिविधिले उनीहरूको चरित्र उदाङ्गो भएको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो । यसैगरी आजै कार्यालयमा भएको क्षतिको प्रहरी मुचुल्का गरिएको छ । 

 

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया