
तुलसीपुुर, १८ असार । पछिल्लो समय तुलसीपुर ८ अश्वारामा रहेको तुलसीपुर भिमसेन मेट्रो अस्पतालबाट सेवा लिनेहरु बढिरहेको छन् । सुरुमा कोरोना विशेष अस्पतालको रुपमा चिनिएको अस्पतालमा ओपिडि, इमर्जेन्सी,एक्सरे, ल्याव, भिडियो एक्सरे, बालबालिकालाई नियमित खोप लगायतका सेवा दिन थालेपछि सेवा लिनेहरु बढेको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को जेठ मसान्तसम्म ५ हजार २ सय ६४ जनाले सेवा लिएका छन् ।
यस्तै वितेको आर्थिक वर्ष २०७९÷८० मा ३ हजार ८ सय ७४ जनाले सेवा लिएको अस्पतालका सुचना अधिकारी सिन्धु मल्लले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरले सञ्चालन गर्दै आएको भिमसेन मेट्रो अस्पतालबाट सेवा पाउँदा स्थानियहरुलाई सहज हुनुका साथै खुशी भएका छन् । सामान्य सेवा लिनका लागि ५ किलोमिटरको बाटो यात्रा गरेर तुलसीपुर बजार पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । तुलसीपुर १, २, ८, ९, नंबर वडा सहित पश्चिम दाङका स्थानियहरुले मेट्रो अस्पतालबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले सामान्य प्रसुती सेवा पनि उपलब्ध रहेको अस्पतालका प्रमुख डाक्टर प्रकाश शाहुले जानकारी दिनुभयो ।
तुलसीपुर ८ अश्वारामा रहेको भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो अस्पताललाई तुलसीपुर उपमहानगरले सञ्चालन गर्दै आएको छ । देशभरका ७ सय ५३ स्थानीय तह मध्य आफ्नै लगानीमा अस्पताल सञ्चालन गर्ने तुलसीपुर उपमहानगरपालिका पहिलो स्थानिय तह हो । ७ कट्ठा क्षेत्रफलमा अस्पताल निर्माण भएको छ । विं सं २०७८ जेठदेखि अस्पताल संचालनमा आएको हो । सुविधा सम्पन्न अप्रेशन थिएटर, महिला, पुरुषका लागि छुट्टाछुट्टै वार्ड, बालबालिकाका वार्ड लगायत भवनको माथिल्लो तला पनि निर्माणाधिन अवस्थामा छ ।।