२०८२ मङ्सिर २३ गते मङ्गलवार

“जीवन्त सम्बन्ध” काे समीक्षा

 तुलसीपुर , ९ मंसिर ।  रोग विशेषज्ञ चर्चित डाक्टर ओम मूर्ति अनिल ज्यू द्वारा लिखित संस्मरण  “जीवन्त सम्बन्ध” नामक पुस्तक अध्ययन गरि भ्याइयो। संस्मरण विधा यस्तो सशक्त र प्रभावकारी लाग्छ कि अवश्य त्यहाँ मानिसका निजात्मक भोगाइ, मनका गुम्फनहरु ओकलिएका हुन्छन् तर हामी त सामाजिक प्राणी। यही समाजमा बस्दा एकलाई परेको जीवन व्यवहारको ठक्कर, सुख दुःख,उकाली ओराली, घुम्ती र हैरानीका अनुभव किस्सा ठ्याक्कै अरुलाई पनि परेको हुन सक्छ र झण्डै दुरुस्तै मिल्छ पनि। त्यसैले चाहे फिल्म कहानी सुनेर, हेरेर होस् वा कथा उपन्यास पढिरहदा पाठक तथा स्रोता आफूले भोगेको,आफ्नो मनको कुरा मिलेको भन्दै भावुक भै संवेदनशिल हुन्छ र रुन्छ। यसर्थ पनि संस्मरण विधा साहित्य विधामा उत्कृष्ट रचनामा गनिन्छ।

   आफू अध्ययनको सिलसिलामा भारतको नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा रहदा बिदाको समयमा बुवा आमालाई साथमा लिइ भारतको सुन्दर सहर ग्वालियर घुम्न निस्किएको बेला यात्राकै क्रममा बुबालाई फुड प्वाइजनिङको कारण स्वास्थ्यमा समस्या उत्पन्न भएको र त्यसले जटिल रूप लिइ खुदै आफू चिकित्सक भईकन आफ्नै प्रत्यक्ष रेखदेख र निगरानीमा  उपचार विधिका अनेकन उपायमा जुटी त्यस क्षण बुबालाई बचाउन सफल भए पनि केही समय पछि   रोगले आक्रमण गर्दा समेत आफ्नै आँखा अगाडि बुवा मृत्युको मुखको नजिक पुग्न लागेको त्यस दु:खद खबरलाई  उपचारमा संलग्न आफ्नै छोरा डाक्टरले अवश्य निको गराउँछ र हामी दुई बुढाबुढीको सप्रेम पुनर्मिलन हुन्छ भन्ने दृढ विश्वास र आशावादी सोचमा रहेकी आमाको सामुन्ने सुनाउनु पर्दा  डाक्टरलाई सकस र पीडा महसुस भएको छ। आमालाई त्यस खबर बताइरहँदा पुस्तक पढिरहेको  संवेदनशिल  मिजासको गम्भीर पाठक तथा स्रोता भावुककै आँखाका परेली भिजाउन बाध्य हुन्छ।

  पुस्तकमा रुनु हुन्न, यसले कमजोर बनाउँछ र कमलो मन भएकाहरु मात्र रुने गर्छन् भन्ने आम बुझाइलाई गलत साबित गर्दै जुनसुकै मानिस रुन सक्दैन, नितान्त उद्दत, स्वच्छ, उच्च मानवीय संवेदनशिल  मिजासको मानिस मात्र रुन सक्छ,आफ्नो प्रियजनलाई  सदा सदाको लागि गुमाउनुपर्दा संवेदनशिल स्वभावको मानिसलाई मज्जाले रुन दिनुपर्छ । रुँदा मनका बिकार  समेत जाने हुँदा स्वास्थ्यलाई समेत फाइदा हुने अवस्थाको बारेमा लेखकले विशेष जोड दिएका छन् साथै आफू रुँदा घरका अन्य सदस्यलाई झनै पीडा र असह्य बेदना थपिने हुँदा आँसु पचाएरै भए पनि नरोएको स्वाङ रच्नु पर्दाको मनोवस्थाको बारे पनि लेखकले अनुभुति बाँडेका छन् ।

   त्यसैगरी पुस्तकमा लेखकले आफन्त वा प्रियजनको मृत्यु हुँदा सम्वेदना प्रकट गर्ने शुभेच्छुले पार्थिव शरीर अन्त्येष्टि गर्दाको तस्बिर सामाजिक सञ्जालमा राखी पोष्टिने तौर तरिका प्रति शुरुमा अनिच्छुक रहेकोमा आधुनिक युगमा आफन्त र शुभचिन्तकलाई यस कुराको जानकारी दिन यो भन्दा प्रभावकारी उपाय अरु हुनै नसक्नेमा राजी हुँदै बुबाको मृत्युको खबर सामाजिक सञ्जालमा पोष्टिने निर्णयमा पुगेको, बुबाको देहान्त पश्चात् अभिभावकत्वको खड्को परेको  सम्बन्धमा लेखकले अभिव्यक्त गरेका शब्द ब्यहोरा पढिरहदा संवेदनशिल मिजासको पाठक भावुक हुन बाध्य हुन्छ।

त्यसैगरी पुस्तकमा परम्परागत मृत्यु संस्कारको १३ औ तिथिको अवसरमा पितृ श्रद्धाको नाममा खासगरी मधेस क्षत्रका गाउँघरमा झण्डै ४, ५ हजार मानिसहरू निम्त्याइ भोज खुवाउने र थप ब्राह्मण भोजन गरि गराइ भड्किलो, देखावटी र लोकाचाररुपि क्रियाकलाप प्रति लेखकले सुरुदेखिनै अरुचि प्रकट गरेका छन्। बुबा बितेको समयमा सान्त्वना दिन र शोक प्रकट गर्न १ दिन सम्म पनि नआएका छिमेकी गाउँले र केही नजिकका आफन्तहरू भोज आयोजनामा मात्र उपस्थित भएको क्षणलाई सम्झदै लेखकले मानिसमा बिकसित हुँदै गइरहेको निष्ठुरपन,अमानवीयता, सामाजिकीरण, नितान्त स्वार्थी र मतलबी दुनियाँ भन्दै चिन्ता र गुनासो प्रकट गरेका छन् ।

    यसरी लेखकले आफ्नै भोगाइलाई ख्याल राख्दै पितृ श्रद्धाको नाममा गरिने भोज आयोजनालाई सामान्य रुपमा लिन,कम खर्च,कम झिन्झटका साथ गर्ने परम्परामा ढाल्न बरु नास्तिक, अधर्मी,कन्जुस र परम्परा विरोधीको अपजस ब्यहोर्न पनि तयार हुनुपर्नेमा आजका नौजवान युवाहरूले  हिम्मती र आँटी काम गरेमा आफ्ना तर्फबाट त्यस कर्मलाइ होस्टेमा हैसे थप्ने विषयवस्तुलाई पनि लेखकले विशेष जोड दिएका छन् ।

    त्यसैगरी पुस्तकमा बुबालाई क्यान्सर रोग लागेको, आफू चिकित्सक हुनुको नाताले विभिन्न उपचार पद्धतिका विधि अपनाएर उहाँको आयु लम्ब्याउने जुक्ति निकाल्ने प्रयास गर्दा बुबालाई शारीरिक तथा मानसिक थकान र कष्टमा पुर्याउनु पर्दा मानवीय सत्कर्मको नाममा कतै अमानवीय र संवेदनहीन व्यवहार त भएन भन्दै लेखक अन्तरद्वन्द्वमा फस्न पुगेका छन् ।यसै सन्दर्भ लेखकले पुस्तकमा दीर्घरोगका कारण बुढेसकालमा छोराबुहारी र नजिकका प्रियजनबाट तताइएर ,बोझिल पात्र बनेर दु:ख र झन्झट दिएर ,मृत्युवरणमा पुर्याउनु भन्दा सहज मृत्युवरणलाई प्राथमिकतामा राख्नुपर्ने हो कि?

   उमेर अवस्थाले जीवनको अन्तिम क्षणमा रहेका र झण्डै थलिनु पर्ने अवस्थाको दीर्घ रोगी बिरामीहरूलाई औषधि थप्दै २, ४ महिना या वर्ष दिन सम्म थप जीवन बाँच्न सक्ने बनाउनु ,नैतिक आचरण र मानवीय हिसाबले ठिकै भए पनि भेन्टिलेटर र सघन कक्षमा राखी बिरामीलाई झनै सकस र पीडा दिई थोरै जीवन लम्ब्याउनु स्वयं बिरामी  व्यक्त्तिका लागि र बिरामीको आफन्तबाट सन्चो हुन सक्ने आश्वासन दिई रकम असुल्ने कर्म कति न्यायोचित, मानवीय मूल्य र सत्कर्मको बाटो हुने र एक चिकित्सकीय दृष्टिले रोग निको नहुने र छोटो समयका लागि मात्र जीवन लम्ब्याउनु पर्ने हो भने मध्यमार्गी बाटोको रुपमा विमर्शमै जुट्नु पर्छ कि भन्दै लेखकले उपरोक्त उपचार पद्धतिबारे निकै सुक्ष्म, गम्भीर तवरले यसबारेमा आफै सँग प्रश्न गरेका छन् विमर्शको लागि जुट्ने तर्कना गरेका छन् ।

    त्यसैगरी पुस्तकमा लेखक विज्ञानको विद्यार्थी भएको र चिकित्सक जस्तो पेशामा रहि दिनहुँ नयाँ नयाँ वैज्ञानिक प्रविधिको प्रयोगमा अभ्यस्त रहनु परे पनि मनको सान्त्वनाको लागि औषधिको रुपमा अध्यात्म प्रतिको बिश्वास र चिन्तनबाट अभिप्रेरित हुन खोज्दा शुभेच्छुकजन मध्यबाट थुप्रैपटक आलोचित हुन पुगेको स्विकारेका छन् यस पंक्तिकार पनि ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दार्शनिक चेतमा विश्वास राख्ने भएकोले उनको त्यस आस्था तथा विश्वासलाई समर्थन गर्न नसके पनि सम्मान र आदरभाव प्रकट गर्न चाहन्छन्।

  त्यसैगरी पुस्तकमा लेखकका बुवा अध्यात्म प्रति बढी रुचि राख्ने भएको जान्दाजान्दै पनि बुवालाइ काठमाडौ बसाईको क्रममा पशुपतिनाथको मन्दिर र मनभरि काठमाण्डौ शहर घुम्ने चाहनालाई पूरा गर्न गराउन नसकेकोमा थकथक मानेका छन् भने अर्कोतर्फ बिरामी बुबालाई अस्पतालमा अवस्थित  फोल्डिङ ओछ्यानमा घाम तापेर बसिरहेको बेला खुट्टामा स्पर्श गरि एलोभेरा मल्हम लगाइ मालिस गर्दै गरेको क्षणलाई जीवनमा भुल्नै नसकिने यादगार अवस्था र सुखद आनन्द बटुलेको अनुभूति पनि पाठक समक्ष बाँडेका छन् ।

 त्यसैगरी पुस्तकमा बाल्यकाल देखिनै सानोभन्दा सानो उपलब्धिको खबर बुबालाई सुनाई बुबाबाट स्याबासी र ढाडस पाउँदा मखलेल र गदगद हुने मन बुबा दिवंगत भए पश्चात्  मुटु चिकित्सक तथा मुटु सम्बन्धी अध्ययन अनुसन्धान गर्न वैज्ञानिकहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको फेलो अप अमेरिकन कलेज कार्डियोलोजी पुरस्कारबाट आफू  सम्मानित हुन पाउँदा त्यो सुखद खबर बुबालाई सुनाउन नपाएकोमा लेखकले अभिभावकको अनुपस्थितिमा हुने उपलब्धि र सम्मान फिका भएको महसुस गरेका छन् ।

 त्यसैगरी बुबाको रेडियाे  सुन्ने बानीले गर्दा आफूले बच्चै देखि देश विदेशमा घटेका घटनाहरुको संक्षिप्त जानकारी बुबाबाट सुन्ने,नयाँ नयाँ विषयवस्तु प्रति चासो र निगरानी राख्ने बानीको विकास भएकोले बुबाको देहान्त पश्चात्  उहाँले प्रयोग गर्ने त्यस पुरानो र थोत्रो भैसकेको रेडियोलाई सुरक्षित र जतनसाथ राखिएको  प्रसङ्ग ब्यहोराबारे पनि पाठक समक्ष बाँडेका  छन् ।

   त्यसैगरी पुस्तकमा लेखक कक्षा ५ मा अध्ययन गर्ने उमेरमा नजिकका एक आफन्तले पटकपटक बुबाको व्यक्तिगत कमि कमजोरी औँल्याउदै निन्दा तथा आलोचना गर्ने  गरेको र एक दिन आमा समेत उपस्थित भएको सार्वजनिक ठाउँमा तिनै ब्यक्तिले बुबाको बारेमा नकारात्मक टिप्पणी गर्दै गरेको अवस्थामा आफू संयोगवश त्यहाँ पुग्दा आमाले बुबाबारे गरिएको निन्दा नसुन्न आफूलाई त्यस ठाउँबाट अन्तै जान अर्ह्याएको प्रसङ्ग पेश गर्दै लेखकले ,आमाले त्यसबेला त्यसरी अरुको निन्दा भएको ठाउँमा उपस्थित नहुन सुझएकोलेनै आजको यस अवस्थामा पनि आफू त्यस नकारात्मक सोच र प्रवृत्तिमा रमाउने निन्दकको भिडबाट जहिल्यै अलग रहन सकेको अनुभव बाँडेका छन् ।

  त्यसैगरी पुस्तकमा चोक, चौतारी र चिया पसलमा अनावश्यक गफी बन्दै  घन्टौँ समय बिताउने तर घर परिवारलाई समय नदिने निष्क्रिय, सिर्जनहिन र गैर जिम्मेवार ब्यक्तिहरूको प्रवृत्ति बढ्दै जानू स्वयं व्यक्ति र समाजको स्वास्थ्यको लागि अत्यन्तै हानिकारक र चिन्ताको विषय रहेकोबारे चर्चा गरेका छन् ।

  त्यसैगरी पुस्तकमा बच्चाहरूको मनोविज्ञानलाई बुझ्दै उनीहरूले गरेका स्वभावजन्य गल्ती कमजोरीलाई ठाडै नकारेर हतोत्साहित गर्नुभन्दा कारण सहित बताइ सच्चिन र सच्याउन मौका दिने र राम्रा र असल कामहरूबारे खुलेर प्रशंसा गरि आत्मविश्वास जगाउनमा असल अभिभावक कहिल्यै चुक्न नहुने तर्क पेश गरेका छन् ।

  त्यसैगरी पुस्तकमा आजको ब्यस्त दुनियाँमा केबल करियर, सफलता,आम्दानी र विलासिता जस्ता भौतिक कार्यमा मात्र ध्यान केन्द्रित गर्दा आमा बुवा र सन्तान बिचको भावनात्मक दूरी निम्तिने, परिवारका सदस्य बीच सुखदुःख सप्ठ्याराअप्ठ्यारा,सफलता र असफलतामा जीवन जिउने सिलसिलाको क्रममा भोगिने,भोगिएका दु:ख,अभाव कठिनाइका घटनाक्रमबारे पर्याप्त छलफल अन्तरकृयाको अभावमा सन्तति र अभिभावक बिच भावनात्मक सम्बन्ध,अपनत्व भावको कमि हुने हुँदा सुसंस्कृत,संस्कारित,समझदारी,सभ्य र मानविय संवेदनशीलतायुक्त विवेकी मान्छे निर्माणमा असर पुग्न जाने कुरा औल्याउँदै प्रत्येक ब्यक्तिको पहिलो पाठशाला उसको घर भएकोले सन्तानको व्यक्तित्व निर्माणमा पारिवारिक वातावरण मैत्रीपूर्णरुपमा रहि  प्रत्येक अभिभावकले आफ्ना सन्ततिको अगाडि रोलमोडलको  रुपमा उभिनु पर्नेमा लेखकको विशेष जोड रहेकोे छ।

   त्यसैगरि पुस्तकको विषय शिर्षक “जीवन्त सम्बन्ध” ले माग गरे झै लामो समय संगत गरेका साथी संगी वा समाज,समुदाय कार्यस्थलमा तत्क्षण चिनजान गरेका आफन्त वा पराया ब्यक्तिका बिचार भावना र स्वार्थ सम्बन्धका विभिन्न आयामहरूको बारेमा लेखकले विस्तृत रुपले विवेचना गर्ने कोसिस गरेका छन् ।

    त्यसैगरी लेखकले आफ्नो अन्तर्जातीय प्रेम विवाह प्रसङ्गका रोचक अनुभूति पस्कदै नव विवाहित जोडीले आफ्नो बुवा आमा,सासुसुरा,इष्टमित्र,आफन्त संग के कसरी सन्तुलनकारी र समझदारीपूर्ण व्यवहार अवलम्बन गर्ने? यसबारेमा पनि निकै सान्दर्भिक धारणा प्रस्तुत गरेका छन् ।

   त्यसैगरी पुस्तकमा लेखकले चितवन कलेज अफ मेडिकल साइन्सेसबाट आफू संगै एमबिबिएस डिग्री पूरा गरेका धेरै साथीहरूले थप अध्ययनको लागि अमेरिका जान सुझाएको तर आफूले त्यसतर्फको बाटो नरोजी मातृभूमि,माटोको सुगन्ध, वृद्धावस्थामाका बुबा आमा, आफन्त इष्टमित्रको आत्मीयता र भाइचारा सुसम्बधलाइ भुल्न नसकेको तर रोजगार र अवसर नपाएकाहरूको हकमा विदेश पलायन स्वभाविक भए पनि उनीहरुले  विदेशमा रहदा आर्जित आफ्नो श्रम, सिप,योग्यता र अर्थ समेतलाई स्वदेश फिर्ता पश्चात् समाजमा उत्पादन र उपलब्धि मूलक कार्यमा योगदान पुर्याउने हेतु हुनुपर्ने विषय सामग्रीलाई गम्भीर रुपले उठान गरेका छन् ।

    त्यसैगरी पुस्तकमा आजको अत्यन्त व्यस्त जीवनशैलीमाथि रुपान्तरण, आधुनिकीकरण,पश्चिमीकरण  वा डिजिटलाइजेसनले कसरी दिनानुदिन हाम्रा परम्परागत मूल्यमान्यता र मानवीय सुसम्बन्धका आयामहरूलाई भत्काउँदै गइरहेको छ? मानिस किन संवेदनहीन ,हृदयहिन,अविवेकी,अव्यवहारिक र असामाजिक प्रवृत्तिको हुँदो छ? यसबारेमा चर्चा गर्दै 

  खासगरी बुबाको देहान्त पश्चात् त्यस संवेदनशील अवस्थामा सिर्जित आँसु र मनका वेदनालाई मसि बनाएर लेखकले मिहिन ढंगले आफ्ना अनुभूति बाँडेका छन् यसो गर्दा उनका निजात्मक जिन्दगीका भोगाइका गन्थनहरु अभिव्यक्त भए पनि ती भोगाइहरु आम मानिसले भोग्ने र अनुभूत गर्ने दर्पणका रुपमा बाहिर आएका छन् ।

जम्मामा पुस्तक भित्र एक अभिभावकले आफ्ना सन्ततिलाई हुर्काउंदा,बढाउंदा पाएका हन्डरठक्कर,सन्ततिको  उन्नति र प्रगतिमा रमाउने,खुशी हुने र उस प्रतिका आशा र सपना के केस्ता रहन्छन् ?सन्तानको खुशीको लागि बा आमाले कसरी आफ्ना उर्बर समय, बैँस र जवानीलाई लुटाए ? वृद्धावस्थाका बुवा आमा प्रति सन्तानको तर्फबाट गरिने उचित स्याहार सम्भार, बिरामी अवस्थामा औषधि उपचार, खानपिन, रेखदेख, मनोविज्ञान बुझ्ने कोसिसका सवालहरुलाइ पनि लेखकले निकै सूक्ष्म रुपमा नियाल्दै आफन्त,पराया र भर्खरै चिनजान गरेका ब्यक्ती विशेषमा अभिव्यक्त हुने जीवन ,प्रेम,सम्बन्ध तथा मृत्युका विविध पाटामा बनेको दृष्टिकोणलाई पुस्तकमा यथोचित स्थान दिइ समेट्ने कोसिस गरिएको छ।

 यसर्थ पनि मानवीय सु सम्बन्धिका विविध पाटालाई नियाल्न,सन्तान र अभिभावक बिच एक अर्काको ख्याल खबर राख्न, मर्यादा र कर्तव्य  प्रति दत्तचित्त हुन र सचेष्ट रहन पनि एक पाठकको हैसियतले लेखकको यो पुस्तक हरेक ब्यक्तिले अध्ययन गर्न र सङ्ग्रह गर्न जरुरी  रहेको सुझाउँछु। धन्यवाद।

    

    

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया