२०८३ जेष्ठ ७ गते बिहिवार

साफ च्याम्पियनशिप खेल्न भारत जाने नेपाली महिला टोलीको बिदाइ

काठमाण्डौ,७ जेठ । साफ महिला च्याम्पियनशिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको बिदाइ भएको छ । सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ -एन्फा)का पदाधिकारीले टोलीलाई बिदाइ गर्नुभएको हो ।बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो । उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने उहाँको भनाइ छ ।आउँदो सोमवार जेठ ११ गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशिपमा नेपाल समूह ए मा छ । यो समूहमा नेपालसँगै भूटान र श्रीलङ्का छन् । समूह बी मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा जेठ ११ गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ । प्रतियोगिताका लागि गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया