दाङ, २१ कात्तिक । आगलागीजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापन, पूर्वतयारी र सरोकारवालाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिइएको छ । तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा शनिबार आयोजित ‘विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले आगलागीजन्य विपद् नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले दमकल खरिदका लागि दुई पटक टेन्डर आह्वान गर्दा पनि खरिद नियमावलीअनुसार आवेदन पर्न नसकेको जानकारी दिनुभयो । उपमहानगरपालिकाले दमकल खरिदका लागि एक करोड २५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरे पनि खरिद प्रक्रिया टुंगोमा पुग्न नसकेको उहाँले बताउनुभयो । तिहारपछि तेस्रो पटक टेन्डर आह्वान गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलले विपद्का समयमा फैलिन सक्ने अफवाह नियन्त्रण गर्न सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण तथा स्रोतसाधन खरिद गर्ने प्रक्रियालाई पनि कानुनी रूपमा सहज बनाउनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले नेपाली सञ्चारमाध्यमले इतिहासमै पहिलो पटक ठूलो विपद्को संकट सामना गरिरहेको उल्लेख गर्दै सरकारले सञ्चारमाध्यमप्रति सहयोगी नीति लिनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका संयोजक दुजमान भण्डारीले विपद् व्यवस्थापनका लागि बजेट अभाव नरहेको बताउनुभयो । उहाँका अनुसार विपद् व्यवस्थापनका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट रहेको छ । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी टीकाराम रेग्मीले विपद् व्यवस्थापनमा सामूहिक एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विपद् आउनुअघि गरिने पूर्वतयारीले सम्भावित क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । राजनीतिक दलका प्रतिनिधिहरूले पनि विपद् व्यवस्थापनमा साझा पहल र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरका सभापति जीवन भण्डारीले समाज रूपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै सामूहिक एकताबाट विकासका काम अघि बढाउन सकिने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका नेता सुरेश हमालले एकअर्कालाई दोषारोपण गर्नुभन्दा रचनात्मक काममा सहकार्य गर्नुपर्ने बताउनुभयो । अन्य पालिकासँग समन्वय गरेर भए पनि तुलसीपुरमा दमकलको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा एमाले तुलसीपुर नगर कमिटीका अध्यक्ष रूपबहादुर खत्रीले विपद् जोखिम न्यूनीकरण सबैको साझा दायित्व भएको बताउनुभयो । श्रम संस्कृति पार्टी तुलसीपुर नगर अध्यक्ष ईश्वरीप्रसाद गैरेले थर्कोटको पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । मानवअधिकारकर्मी सुशील बस्नेतले सरकार र सरोकारवालाबीच समन्वय कायम गर्दै विपद् व्यवस्थापनका लागि स्थायी संयन्त्र निर्माण गरी परिचालन गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब लेखा समिति सदस्य सङ्गीत बस्यालले सामुदायिक रेडियोले समाजप्रति उत्तरदायी हुँदै सूचनाको प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष आरके शीतलले आगलागीजन्य घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालले सामाजिक सद्भाव र सहिष्णुता कायम हुने गरी पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । प्रेस सेन्टर दाङका सचिव दीपक बोहराले सञ्चारमाध्यमले उठाउने आलोचनात्मक प्रश्नलाई सहज रूपमा लिन आग्रह गर्नुभयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले आगलागीजन्य विपद्बाट हुने क्षति न्यूनीकरण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताउनुभयो । यसका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।
साथै, तिहारमा दियो बाल्दा आगलागीको जोखिम हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । तुलसीपुर चेम्बर अफ कमर्सका सचिव दुर्गाप्रसाद शर्माले आगलागी नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि तुलसीपुरमा दमकलको व्यवस्था अनिवार्य रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव भद्रबहादुर वलीले गर्नुभएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले विपदको जोखिम न्यूनिकरण र सचेतनाबारे नौ बुँदे निष्र्कष प्रस्तुत गर्नुभएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासंघका उपाध्यक्ष टीकाजंग वलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।