तुलसीपुर, १५ कार्तिक। अनुशासन, आत्मनिर्भरता, नेतृत्व क्षमता र सामूहिक सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित दाङको तुलसीपुरस्थित दिव्य कुञ्ज एकेडेमीमा सञ्चालित तीनदिने आवासीय स्काउट क्याम्पले विद्यार्थीलाई व्यवहारिक जीवनका महत्त्वपूर्ण पाठ सिकाइरहेको छ।
तुलसीपुर–७ स्थित विद्यालयमा दिव्य कुञ्ज स्काउट दलको आयोजनामा शुक्रबारदेखि सुरु भएको क्याम्पको दोस्रो दिन शनिबार राति आकर्षक फायर क्याम्प (क्याम्प फायर) आयोजना गरिएको छ। विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी जीवनमा आवश्यक पर्ने सीप, आत्मविश्वास, आत्मनिर्भरता, सेवाभाव र सामूहिक जिम्मेवारीबोध गराउने लक्ष्यका साथ क्याम्प सञ्चालन गरिएको हो। स्काउटको मूल मर्म सेवा भएकाले विद्यार्थीलाई आफ्नो काम आफैँ गर्ने, समयको सदुपयोग गर्ने, जिम्मेवारी बहन गर्ने र समूहमा मिलेर काम गर्ने अभ्यास गराइएको छ।
विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति अध्यक्ष वीरबहादुर भण्डारी (मोहन) को प्रमुख आतिथ्यतामा क्याम्पको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थी र अभिभावकको पूर्ण सन्तुष्टि, समयसापेक्ष शिक्षा तथा शिक्षक–कर्मचारीको सुरक्षित भविष्यलाई प्राथमिकतामा राखेर विद्यालयले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा काम गरिरहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले आवासीय क्याम्पले विद्यार्थीमा अनुशासन, एकता, सहयोग र सामूहिक भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सँगै बस्ने, सँगै खाने र सामूहिक रूपमा काम गर्ने अभ्यासले विद्यार्थीलाई जिम्मेवार तथा असल नागरिक बन्न प्रेरित गर्ने उहाँको भनाइ थियो। पछिल्लो समय विद्यार्थीमा डिजिटल माध्यमको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उहाँले मोबाइलको प्रयोग शैक्षिक तथा सकारात्मक काममा मात्र गर्न आग्रह गर्नुभयो। उहाँले गलत सङ्गतबाट टाढा रहन, सामाजिक अपराध तथा लागुऔषध दुर्व्यसनबाट जोगिन र मोबाइलमार्फत हुने ठगी तथा साइबर अपराधप्रति सचेत रहन विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो।
कार्यक्रममा पत्रकार नारायण खड्काले सिकाइको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीलाई सामाजिक सञ्जालमा बिताउने समय घटाएर अध्ययन र सिर्जनात्मक गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो। उहाँले स्काउटजस्ता कार्यक्रमले किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आवश्यक पर्ने सीप र अनुभव प्रदान गर्ने बताउनुभयो। क्याम्प प्रमुख अञ्जली शाहले यस क्याम्पलाई विद्यार्थीको पहिलो मित्रता क्याम्पका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार शुक्रबारदेखि विद्यार्थी विद्यालयमै आवासीय रूपमा बस्दै आएका छन्। दुई रात र तीन दिनसम्म सञ्चालन हुने क्याम्पमा विभिन्न सिर्जनात्मक, व्यवहारिक तथा सामूहिक गतिविधिसँगै क्याम्प फायरको महत्त्वबारे विद्यार्थीलाई जानकारी गराइएको छ।
शनिबार राति आयोजित क्याम्प फायरले विद्यार्थीलाई एकता, सहकार्य र सामूहिक शक्तिको महत्त्व बुझाउने उहाँले बताउनुभयो। एउटा झिल्काले मात्र पर्याप्त ताप दिन नसके पनि धेरै झिल्का एकै ठाउँमा मिसिँदा न्यानोपन सिर्जना हुने उदाहरण प्रस्तुत गर्दै उहाँले एकतामा रहेको शक्तिलाई स्पष्ट पार्नुभयो।क्याम्पलाई अन्धकारबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अघि बढ्ने यात्राका रूपमा चित्रण गर्दै उहाँले यस्ता गतिविधिले विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालले विद्यार्थीमा सामूहिक भावना, सामाजिक उत्तरदायित्व र व्यावहारिक ज्ञान अभिवृद्धि गर्न स्काउट क्याम्पजस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। सहायक प्रधानाध्यापक धिरज केसीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षक सरला श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रधानाध्यापक कुलानन्द अधिकारीले सहभागी अतिथि, सहयोगी तथा कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो।
शुक्रबारदेखि सुरु भएको तीनदिने आवासीय क्याम्प आइतबार समापन हुने विद्यालयले जनाएको छ। किताबी ज्ञानसँगै जीवन जिउने कला, अनुशासनसँगै नेतृत्व र व्यक्तिगत सोचसँगै सामूहिक जिम्मेवारी सिकाउने यस्ता अभ्यासले विद्यार्थीलाई भविष्यका सक्षम, जिम्मेवार र सेवाभावी नागरिक बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।