सल्यान १७ असोज । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी भौमा न्यौपाने गौतमले संगठनात्मक जिम्मेवारी र सक्रिय राजनीतिक यात्रामा निरन्तर अगाडि बढ्दै उल्लेखनीय उपलब्धि हासिल गर्नु भएको छ।
उहाको राजनीतिक यात्रा २०६४ सालमा तुलसीपुरस्थित राप्ती बबई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यबाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतितर्फ अघि बढेकी गौतमले दाङमा नेपाली कांग्रेसका वडा कमिटीदेखि क्षेत्रीय महिला संघसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । विवाहपछि सल्यानलाई राजनीतिक कार्यक्षेत्र बनाएकी गौतमले पार्टीको १४औँ महाधिवेशनमा बागचौर नगरपालिकाको नगर कार्यसमितिको उपसभापतिमा निर्वाचित हुँदै संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभयो।
निरन्तरको सक्रियता, संगठनात्मक अनुभव र राजनीतिक यात्रालाई अघि बढाउँदै उहा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सल्यानबाट खुला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो। खुला महिला समूहमा चार जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकोमा आठ जना महिला उम्मेदवार प्रतिस्पर्धामा थिए। उक्त निर्वाचनमा गौतमले ८४९ मत प्राप्त गर्दै खुला महिलातर्फ प्रथम स्थान हासिल गर्नुभयो।
विद्यार्थी राजनीतिबाट सुरु भएको उहाको यात्रा वडा कमिटी, महिला संघ, नगर कार्यसमितिको उपसभापतिसम्म हुँदै अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिका रूपमा थप जिम्मेवारीको चरणमा प्रवेश गरेको छ। उहाको यो यात्राले लामो समयदेखि पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका महिला नेतृत्वको राजनीतिक उपस्थितिलाई समेत प्रतिनिधित्व गरेको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।