२०८३ भाद्र ५ गते शुक्रवार

तुलसीपुर–अमेलिया सडकखण्डमा दुर्घटना न्यूनीकरणको माग, पद्मनगर टोल विकास संस्थाले बुझायो ८ बुँदे ध्यानाकर्षण

तुलसीपुर ५ भदौ । तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत मदन आश्रित चोकदेखि गुम्राह चोकसम्मको सडक क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।यस सडकखण्डमा पटक–पटक दुर्घटना हुँदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित पद्मनगर टोल विकास संस्थाले सडक सुरक्षा सुधारको मागसहित सम्बन्धित निकायलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

सडकमा दुर्घटनाको जोखिम उच्च भए पनि यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबाट पर्याप्त चासो नदिइएको स्थानीयको गुनासो छ। दुर्घटना न्यूनीकरणसँगै पैदलयात्री तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्न तत्काल आवश्यक संरचना निर्माण र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने टोल विकास संस्थाको माग छ।ध्यानाकर्षण पत्रमा सडक मापदण्डअनुसार कम्तीमा ३० मिटर क्षेत्र कायम गरी नाला तथा पक्की सडक निर्माण गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, मदन आश्रित चोकदेखि गुम्राह चोकसम्म आवश्यक स्थानमा ट्राफिक आइल्यान्ड निर्माण गरी सुरक्षा पोस्ट स्थापना गर्नुपर्ने उल्लेख छ।
बाटो काट्ने स्थानमा आवश्यकताअनुसार जेब्रा क्रसिङ तथा रोड मार्किङ गर्नुपर्ने, सडकको केन्द्रबिन्दुमा स्थायी मिडियन संरचना निर्माण गर्नुपर्ने र सहरी क्षेत्र भएकाले सडकको दायाँबायाँ हुने पार्किङलाई व्यवस्थित गर्दै सवारीसाधनको गति सीमित गर्नुपर्ने माग पनि अघि सारिएको छ।त्यसैगरी कार्यालय खुल्ने तथा बन्द हुने समयमा नियमित रूपमा ट्राफिक चेकजाँचलाई कडाइ गर्नुपर्ने, सडक सुरक्षा तथा ट्राफिक सचेतनाका कार्यक्रमलाई नियमित सञ्चालन गरी प्रभावकारी अनुगमन गर्नुपर्ने र सडकमा छाडा गाईवस्तुको नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने माग ध्यानाकर्षण पत्रमा समेटिएको छ।

पद्मनगर टोल विकास संस्थाले उक्त ८ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिका, सडक डिभिजन कार्यालय दाङ, इलाका प्रशासन कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको हो।टोल विकास संस्थाका पूर्वअध्यक्ष नवराज लामिछाने र अध्यक्ष भगवत धितालसहितको टोलीले सम्बन्धित कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको जनाइएको छ।स्थानीयका अनुसार तुलसीपुर–अमेलिया सडकखण्डमा सवारीसाधनको चाप बढ्दै जाँदा सडक सुरक्षा व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ। तीव्र गतिमा चल्ने सवारीसाधन, अव्यवस्थित पार्किङ, पैदलयात्रीका लागि पर्याप्त क्रसिङको अभाव, सडकको बीचमा सुरक्षित मिडियन नहुनु तथा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढिरहेको उनीहरूको भनाइ छ।

टोल विकास संस्थाले दुर्घटना भएपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पनि सम्भावित दुर्घटना रोक्न पूर्वतयारी र आवश्यक सडक संरचना निर्माणमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।
स्थानीयले सडकलाई सुरक्षित बनाउन उठाइएका मागलाई तत्काल सम्बोधन गरी आवश्यक पूर्वाधार निर्माण, ट्राफिक व्यवस्थापन र नियमित अनुगमन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले यस क्षेत्रमा थप मानवीय क्षति हुन नदिन समयमै प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया