दाङ, २६ श्रावण । दाङको तुलसीपुरमा सामुदायिक वन तथा वन संरक्षणमा युवाको सहभागिता बढाउँदै हरित अर्थतन्त्र र दिगो व्यवस्थापनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । वन दिवस–२०८३ को अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले वन संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नहेरी स्थानीय समुदाय, युवा तथा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन् । “अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ तुलसीपुर दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम स्थानीय वन महासंघका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा प्रदेश वन महासंघ लुम्बिनीका महासचिव सोभाकर सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सापकोटाले वन संरक्षण र व्यवस्थापनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सामुदायिक वनलाई केवल काठ, दाउरा तथा वन पैदावारको स्रोतका रूपमा मात्रै नहेरी रोजगारी, उद्यमशीलता र स्थानीय आर्थिक विकाससँग जोड्नुपर्ने धारणा राख्नुभयो ।
वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता, स्थानीय तह, वन कार्यालय तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । युवालाई वन संरक्षणसँगै वनमा आधारित उद्यम तथा हरित अर्थतन्त्रतर्फ आकर्षित गर्न सके सामुदायिक वनबाट स्थानीय समुदायले थप लाभ लिन सक्ने उहाँले बताउनुभयो । साथै वन संरक्षणका नाममा हुने गतिविधिले वातावरणीय सन्तुलनमा असर नपर्ने गरी वैज्ञानिक र दिगो व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सहसचिव भुपबहादुर केसी, सब–डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख खिमबहादुर केसी, ग्रीन फाउन्डेसनका उद्यम अधिकृत सुरेश रावत लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, वनमा आधारित उद्यमको विकास तथा वन संरक्षणमा युवाको सहभागिताका विषयमा छलफलसमेत गरिएको थियो । सहभागीहरूले बदलिँदो समयअनुसार सामुदायिक वनको व्यवस्थापनमा नयाँ पुस्तालाई जोड्दै वनबाट वातावरणीय संरक्षणसँगै आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।