२०८३ भाद्र ५ गते शुक्रवार

दाङका विभिन्न ठाउँबाट ३७ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ, ५ भदौ । दाङमा प्रहरीले विभिन्न स्थानबाट लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार विभिन्न स्थानका जंगल,झाडी तथा ओडारबाट अवैध भरुवा बन्दुक फेला परेको हो । विशेष सूचनाका आधारमा प्रहरीले भदौ १ गतेदेखि ४ गते सम्म चार दिनको अवधीमा उक्त संख्यामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । जिल्ला मातहतका प्रहरी कार्यालयको सहयोगमा अवैध हतियार बरामद भएको हो । उहाका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले शान्तिनगर गाउँपालिका–३ स्थित भित्री खोला सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक बरामद गरेको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–४ स्थित भूमेबराह सामुदायिक वनबाट ४ नाल, ल्वाङे भत्कुले सामुदायिक वनबाट १ नाल र बंगलाचुली–५ तल्लो मुर्कुटीबाट २ नाल गरी ७ नाल बन्दुक बरामद गरेको छ। यस्तै अस्थायी प्रहरी पोष्ट बन्गैबाट खटिएको टोलीले लमही नगरपालिका–७ बन्गैस्थित स्वर्गद्वारी सामुदायिक वनबाट ९ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१४ स्थित दिव्यज्योति सामुदायिक वनबाट १ नाल, इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ चक्ला राष्ट्रिय वनबाट १ नाल ,अस्थायी प्रहरी पोष्ट नर्तिबाट खटिएको टोलीले लमही नगरपालिका–१ सुन्डबरी सामुदायिक वनबाट ४ नाल बन्दुक बरामद गरेको उहाले जानकारी दिनुभयो ।

यसैगरी प्रहरी चौकी पुरन्धाराबाट खटिएको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट १ नाल, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–८ हंसपुरस्थित दैलेढुङ्गा सामुदायिक वनबाट ५ नाल , बंगलाचुली गाउँपालिका–३ भेडाबारीस्थित राष्ट्रिय वनबाट २ नाल गरी ७ नाल, प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१९ बाम्लास्थित पालुङ सामुदायिक वनबाट १ नाल, प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१ छोटेस्थित नवदुर्गा सामुदायिक वनबाट १ नाल,अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–३ कालामारे जंगलबाट २ नाल र अस्थायी प्रहरी पोष्ट छिल्लीकोटबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१९ सुंगुरखोला स्थित कालिका सामुदायिक वनको ओडारमुनिबाट १ नाल भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीले जिल्लाका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका अवैध हतियारको खोजी तथा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको उहाले जानकारी दिनुभयो । बरामद भएका हतियार कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि जंगलमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया