काठमाण्डौ, २४ असार । स्विट्जरल्यान्डले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । क्यानडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो ।खेलको निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी शुटआउटबाट भएको हो ।सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टरफाइनल यात्रा हो ।
अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ । यस्तै फिफा विश्वकप फुटबलको अन्तिम–१६ अन्तर्गत गए राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम १४ मिनेटभित्र तीन गोल फर्काउँदै ३–२ को जित निकालेको हो । फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।






