२०८३ भाद्र ६ गते शनिवार

तुलसीपुरमा सुनचाँदीको ब्यवसायीक भेला तथा छलफल कार्यक्रम

तुलसीपुर, ६ भदौ । तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघ तुलसीपुरको आयोजनामा शनिवार तुलसीपुरमा ब्यवसायीक भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता एवं नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष धुव्र कुमार गहतराजको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि गहतराजले व्यवसायीहरु अब कच्चापदार्थ सुनको लागि काठमाडौ जान नपर्ने स्पष्ट पार्नुभएको छ ।

उहाले विगतमा सुनको लागी व्यवसायीहरु काठमाण्डौ जानुपर्ने बाध्यता अहिले हटेको बताउनुभयो । महासंघले सम्बन्धित प्रदेशबाटै सुन वितरण गर्ने व्यवस्था मिलाएको उहाले बताउनुभयो । विगतमा सुरक्षा चुनौती देखाउदै सुन ढुवानी गर्न आनाकानी भएकोमा निरन्तर महासंघको दबाब पछि पछिल्नो समय प्रदेश बाटै सुन वितरणको व्यवस्था मिलाईएको उहाले बताउनुभयो । साथै उहाले बर्तमान सरकारले १० प्रतिशत भन्सार कर बढाउदा आम उपभोक्ता मर्का परेको भन्दै सच्याउनु पर्ने माग गर्नुभएको छ । सो अवसरमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय सदस्यद्धय लोकबहादुर स्वर्णकार र मदन कुमार केसी , संघका सल्लाहकार मिनराज वलि र प्रहलाद शाहले व्यवसायी र आम उपभोक्ताको हितको पक्षमा निति नियम बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

साथै व्यवसायीहरु हिरा सुनार , लोकबहादुर बिक , शंकर स्वर्णकार , घमण्ड बहादुर महर , संकर सुनार , मनिष जंग शाह , जनक शेपाईली, पर्शुराम सुनार , भुपेन्द्र सुनार , कोमल डिसी, पुष्कर सुनार र ललित गुप्ताले अहिले बजारमा सुनचाँदीको मुल्य अत्याधिक बढेका कारण ज्याला दरमा एकरूपता हुनु पर्ने बताउनु भएको थियो । हिन्दुहरूको महान पर्व हरि तालिका (तिज) दशै , तिहार जस्ता महत्वपुर्ण चाडपर्वलाई मध्येनजर गर्दै आम उपभोक्तालाई मर्का नपर्ने गरी ज्यालादरमा एकरुपता कायम गर्नुपर्ने उनीहरुले बताएका छन् । संघका कोषाध्यक्ष लिला बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघका उपाध्यक्ष मनोज शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका महासचिव तुल्सीराम सुनारले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया