२०८३ असार १३ गते शनिवार

जेनजी प्रदर्शनः दाङमा १८८ वटा सवारीसाधन जलेर नष्ट

दाङ, १ असोज। जेनजी प्रदर्शनका क्रममा दाङमा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार, ४४ वटा चारपाङ्ग्रे गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विभिन्न प्रकारका टिपर, ट्याक्टर, स्काभेटर, टेलर, लोडर र दमकल पनि जलेका छन्।

त्यस्तै, १३३ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन्, जसमा ८३ सरकारी, ४७ निजी, तीन निजी स्कुटर र १० साइकल रहेका छन्। उच्च अदालत तुलसीपुरका पाँच सवारीसहित तीन निजी मोटरसाइकल पनि जलेका छन्। तुलसीपुर उपमहानगरमा छ थान सरकारी, एक थान निजी सवारीसहित एक थान दमकल, मोटरसाइकललगायत सवारी जलेर क्षति भएका छन् ।  घोराही उपमहानगरमा दुई गाडी र सात मोटरसाइकल, आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा दुई गाडी र पाँच मोटरसाइकल जलेका छन्।

यसैगरी, लोकसेवा आयोग, बबई गाउँपालिका, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, प्रदेश निर्वाचन कार्यालय, सडक विभाग र पूर्वाधार कार्यालयसहित जिल्लाका दुई दर्जन बढी सरकारी कार्यालयका सवारीसाधन जलेर नष्ट भएका छन्। प्रदर्शनका क्रममा ३४ भन्दा बढी संरचनामा समेत क्षति पुगेको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया