सल्यान ३ भदौ । सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीस्थित राप्ती राजमार्गमा फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।मंगलबार बिहान करिब ११ः५० बजे तुलसीपुर–सल्यान सडकखण्डमा नेपालगन्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु . प्र ०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा।६८ प २५२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सल्यानको कपुरकोट गाउँपालिका–६ सिमडाँखोली निवासी ३४ वर्षीय बेदबहादुर वली र सोही स्थानका ५२ वर्षीय शुकलाल वली घाइते भएका थिए। बेदबहादुर मोटरसाइकल चालक रहेको र शुकलाल पछाडि सवार रहेको खुलेको प्रहरीले जनाएको छ।दुर्घटनापछि दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि तुलसीपुर पठाइएको थियो। उनीहरूलाई सुरुमा तुलसीपुरस्थित लाइफ केयर अस्पतालमा उपचार गराइएको थियो। पछि थप उपचारका लागि बेदबहादुरलाई घोराहीस्थित सञ्जीवनी शिक्षण अस्पतालको आईसीयूमा राखिएको थियो बेदबहादुरको टाउको र कानमा गम्भीर चोट लागेको थियो भने उनी बोल्न नसक्ने अवस्थामा थिए।
उनको अवस्था गम्भीर रहेको अवस्थामा उपचार भइरहेको थियो। तर भदौ ३ गते बिहान ७ः५५ बजे उपचारका क्रममा उनको मृत्यु भएको र मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानाले जनाएको छ।दुर्घटनामा घाइते शुकलाल वलीको भने सञ्जीवनी शिक्षण अस्पताल घोराहीमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्थामा सुधार आएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट प्रहरी निरीक्षक सोम घर्तीमगरको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो। फोर्स गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा राखिएका छन्।प्रहरीका अनुसार फोर्स गाडीमा चालकसहित अन्य यात्रु रहेको भए पनि दुर्घटनामा उनीहरू घाइते भएको विवरण प्राप्त भएको छैन। दुर्घटनाका कारण सडकमा यातायात अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धान अनुसार फोर्स गाडीका चालकले मादक पदार्थ सेवन नगरेको खुलेको र दुर्घटनाको वास्तविक कारण भने थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।





