२०८३ भाद्र ९ गते मङ्गलवार

प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनै पर्ने बाध्यता

फोटो फाईल

काठमाण्डौ,९ भदौ । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने तयारी गर्नुभएको छ । प्रधानमन्त्री शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुने र सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यतालिका बनेको छ । यस अघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गर्नुभएको थियो । यदी कालो चस्मा लगाउनुपर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन उहाले आग्रह गर्नुभएको थियो ।

यस्तो आग्रहपछि पनि प्रधानमन्त्री कालो चस्मामै संसदमा उपस्थित हुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनै पर्नुको कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेख्नु भएको छ । प्रधानमन्त्रीले आँखामा समस्याका कारण कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट नै संसद सचिवालयमा पठाउनु भएको छ । उज्यालोमा हेर्न असहज भएको भन्दै प्रधानमन्त्री शाहले नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराउनु भएको थियो ।

लेफ्टिनेट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा परीक्षण गर्नुभएको हो । आँखा परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुन्छ भने आँखा सुक्खा हुने भएकोले बेलाबेला आइड्रपको प्रयोग गरिराख्नुपर्ने उल्लेख छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया